समाज

विराटनगरमा दिनदहाडै एक युवकमाथि तरबार प्रहार

सोमबार दिउँसो पौने ३ बजेतिर विराटनगरको मुख्य बजार क्षेत्र नजिकै एक युवकमाथि तरबार प्रहार भएको छ।

विराटनगर महानगरपालिका–१० बाबा चोक (संसारी माई मान्दिर पूर्व) मा दिनदहाडै २२ वर्षीय महमद हलिम खानमाथि तरबार प्रहार भएको हो।

विराटनगर–८ का खानलाई ४ जनाको समूहले तरबार प्रहार गरी घाइते बनाएको मोरङ प्रहरीले जनाएको छ। खान दुवै हातमा तरबार प्रहार हुँदा गम्भीर घाइते भएका छन्। उनलाई घटनास्थल नजिकै रहेको न्यूरो अस्पतालमा तत्कालै स्थानीयले मोटरसाइकलमा राखेर उपचारका लागि लगेका थिए।

तरबार प्रहारबाट खानको दुवै हातको नशा काटिएकाले भ्याकुलर सर्जरी गर्नुपर्ने भएपछि न्यूरो अस्पतालबाट थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

बजारतिर (संसारीमाई स्थान मन्दिर) को बाटो हुँदै आएका २ जना केटाहरु दोकान बाहिरको बेन्चमा बसेको बताउँदै, घटनाका प्रत्यक्षदर्शी शंकर सिंहले भने, ‘उनीहरु बसेको केही समयमै मोटरसाइकलमा आएका केटाहरु त्यही बाटोबाट आए। दोकान बाहिर बसेका केटाहरुलाई मोटरसाइकलमा आएकाले ‘उ त्यही केटा हो, यहाँ रहेछ’ भन्दै एक जना ओर्लिएर तरबार प्रहार गर्न थाले। त्यहाँ बसेका मध्ये एक जनालाई तरबार प्रहार गर्न थाल्यो। शरीरमा प्रहार गर्न खोजेको तरबारलाई दुवै हातले छेक्दा दुवै हात काट्यो। हात कटेर रगत बग्न थालेपछि उनीहरु आएकै बाटो हुँदै भाग्दै गए।’

उनले घटनामा संलग्न भएकाहरुलाई यसअघि कहिले पनि नदेखेको बताए। तरबार प्रहार गर्नसाथ उनीहरु भागे। बाटोमा हिँडेकाहरुले नै मोटरसाइकलमा राखेर घाइतेलाई अस्पताल लगे। उनीहरुले तरबार खुला रुपमा बोकेर आएका थिए।

चोकमा रहेको सिसी क्यामेरा धेरै समयअघिदेखि बिग्रेको बताउँदै, सिंहले भने, ‘चोकको सुरक्षाका लागि क्यामेरा नामका लागि मात्रै रहेको छ। बिग्रेको पनि धेरै समय भइसक्यो। वडा समितिमा गएर कयौं पटक क्यामेरा मर्मत गर्नभन्दा बजेट नभएका हुँदा मर्मत गर्न गाह्रो छ भन्छन्।’

खानलाई तरबार प्रहार गरी संसारीमाई स्थान मन्दिर तर्फ भागेको र मन्दिर नजिक रहेको झाडीमा उनीहरुले घटनामा प्रयोग गरेको तरबार फालेका थिए। प्रहरीले घटनामा प्रयोग गरेको तरबार झाडीमा फेला परेपछि नियन्त्रणमा लिएको छ। घाइते भएका खान एसी, फ्रिजलगायतका सामानका मर्मत गर्ने काम गर्दै आएका छन्।

घटनामा ४ जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताउँदै, मोरङ प्रहरीका सहायक प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले भने, ‘घटनाको खबर आउनासाथ प्रहरी परिचालन गरिएको थियो। घटनामा प्रयोग गरिएको तरबार फेला परेको छ। घाइते उपचारका क्रममा भर्ना भएको हुँदा घटनाका विषयमा थप कुराकानी गर्न सकेका छैनौं।’

दुवै पक्षबिच पुरानो रिसिबीका कारण घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको र थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार विराटनगर–८ का समिर हुसेन, बर्सिया अमन कुरेसी, विराटनगर–११ का बर्सिया कुशल पाण्डे र विराटनगरकै सदाब अन्सारीको समूह घटनामा संलग्न रहेका छन्। मुस्लिम समुदायको मोहरम पर्वमा भएको विवादलाई लिएर तरबार प्रहार भएको आशंका प्रहरीले गरेको छ।

प्रकाशित: २९ श्रावण २०८० १४:५९ सोमबार