काठमाडौं- केही दिनअघि मात्रै दिपायलस्थित मध्यपश्चिम पृतनास्थित एफएम रेडियो स्टेसनबाट परीक्षण प्रसारण थालेको नेपाली सेनाले आफ्ना सबै पृतनाबाट एमएम प्रसारणका लागि सरकारसँग इजाजत मागेको छ। नेपाली सेनाका ६ वटा पृतना छन्।
राष्ट्रिय सुरक्षामा ध्यान दिनुपर्ने भए पनि फास्ट ट्रयाक, सडक निर्माण पेट्रोलपम्प सञ्चालनलगायत व्यावसायिक काम गर्दै आएको सेनाले बाँकी ५ वटा पृतनाबाट पनि एफएम स्टेसन सञ्चालनका लागि सञ्चार मन्त्रालयसँग इजाजत मागेको हो। सेनाले पूर्वपृतना, पश्चिमपृतना, सुदूरपश्चिम पृतना, मध्यपश्चिम पृतना, मध्यपृतना र उपत्यका पृतनामा एफएम सञ्चालन अनुमति मागेकोमा मध्यपश्चिम पृतनाको दिपायलबाट परीक्षण प्रसारण थालेको हो।
सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले सेनाले ६ वटै पृतनाबाट प्रसारण गर्न फ्रिक्वेन्सी माग गरे पनि हाल दिपायल पृतनाबाट मात्रै प्रसारण गर्न फ्रिक्वेन्सी पाएको जानकारी दिए। 'अहिले हामीले दिपायलका लागि मात्रै फ्रिक्वेन्सी दिएका छौं, जसअनुसार परीक्षण प्रसारणसमेत सुरु भइसकेको छ,' ढकालले भने, 'अन्य पृतनाबाट पनि प्रसारणका लागि अनुमति माग गरेको भए पनि दिइसकिएको छैन, प्रक्रियामै छ।' उनले काठमाडौं महानगरपालिकालाई मेट्रो एफएम, ट्राफिक प्रहरीलाई मेट्रो ट्राफिक एमएम सञ्चालनका लागि अनुमति दिइएझैं सेनालाई पनि एफएम सञ्चालनका लागि अनुमति दिइएको जानकारी दिए।
सरकारी सञ्चारमाध्यमहरू रेडियो नेपाल, नेपाल टेलिभिजन र देशभरका निजी एफएमसँग समय लिएर आफ्ना गतिविधि प्रसारण गर्दै आइरहेको सेनाले पछिल्लोपटक आफ्नै एफएम स्टेसन सञ्चालनमा ल्याएको हो।
नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले विपद् व्यवस्थापन, शान्ति सेनामा नेपाली सेनाको योगदान, वातावरण संरक्षणमा सेनाले गरेको योगदानलाई जनतासमक्ष पुर्याउन ६ वटै पृतनाबाट एफएम प्रसारण गर्नेगरी माग भएको र जसमध्ये दिपायलबाट इजाजत पाएर परीक्षण प्रसारण सुरु भइसकेको बताए। 'सेनाले गरेको काम जनतासमक्ष पुर्याउन सबै पृतनाबाट एफएम सञ्चालनमा ल्याउन लागिएको हो,' कडायतले भने, 'जसमध्ये एउटा परीक्षण प्रसारणमा आइसकेको छ भने बाँकी इजाजतको प्रक्रियामा छन्।' उनले एफएम सञ्चालनमा कुनै नाफाको मनसाय नभएको बताए। उनले बेलायत, अमेरिकालगायत थुप्रै देशमा सेनाले आफ्ना गतिविधि जनतासमक्ष पुर्याउन रेडियो, टेलिभिजन सञ्चालनमा ल्याएको बताउँदै उनले आफ्नै सञ्चारमाध्यममार्फत आफ्ना गतिविधि जनतालाई सुसूचित गराउँदा राष्ट्रभक्तिको भावना विकास हुने बताए। उनका अनुसार सेनाले हाल देशभरका १ सय ७७ एफएम स्टेसन र ४५ वटा टेलिभिजनमार्फत आफ्ना कार्यक्रम प्रसारण गरिरहेको छ।
सामुदायिक रेडियो अभियन्ता रघु मैनालीले नेपाली सेना राजनीतिक जनमत बनाउन र राज्यसंयन्त्रका सबै अंगमा हात हाल्ने उद्देश्यले बढेको हो भने एफएम प्रसारण गलत भएको बताए। '८० देखि १०८ सम्म पब्लिक फ्रिक्वेन्सी हो, १०८ देखि ११७ सम्मको फ्रिक्वेन्सी हवाई विभागलाई छुट्याइन्छ, यसैगरी प्रहरीलाई पनि फ्रिक्वेन्सी उपलब्ध गराइएको हुन्छ,' मैनालीले भने, 'पब्लिक फ्रिक्वेन्सीमा छिरेर सेनाले एफएम चलाउन पाउँदैन, यो विश्वमा कहीं पनि छैन।' उनले अमेरिका, बेलायतमा पनि सेनाले चलाएका एफएम पबिलक फ्रिक्वेन्सीमा नभएको दाबी गरे। सेनाले एफएम किन चलाउन खोजेको हो त्यो नुखलाईकन अनुमति दिनु गलत भएको मैनालीको भनाइ छ।
प्रकाशित: २९ असार २०७४ ०२:५१ बिहीबार