समाज

सात प्रतिष्ठानमा १२३ श्रमिक नियुक्तिपत्रबिनै काममा

युवा श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका निकायले गरेको अनुगमनका क्रममा सात वटा प्रतिष्ठानमा १२३ जना श्रमिकलाई नियुक्तिपत्रबिनै काममा लगाइएको पाइएको छ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयहरूले कात्तिक १८ गते विभिन्न प्रतिष्ठानमा अनुगमन गरेका थिए। अनुगमनका क्रममा नियुक्तिपत्र नदिई काममा लगाउने, श्रम अडिट नगर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध नगर्ने तथा न्यूनतम पारिश्रमिक उपलब्ध नगराउनेजस्ता समस्या भेटिएका छन्।

श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख सुलभ श्रेष्ठसहितको टोलीले हेलो सरकारमार्फत प्राप्त उजुरीका आधारमा मेचीनगरस्थित होटल अश्वत्थमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रतिष्ठानले आफ्नो विनियमावली नबनाएको, १० जना श्रमिकलाई नियुक्तिपत्र नदिई काममा लगाएको, सामाजिक सुरक्षा कोषमा आबद्ध नगरेको र चाडपर्व खर्चको व्यवस्था नगरेको पाइएको छ।

टोलीले श्रमिकका समस्या तत्काल समाधान गर्न र श्रम अडिट गरी प्रतिवेदन सात दिनभित्र श्रम तथा रोजगार कार्यालयमा बुझाउन निर्देशन दिएको छ।

त्यस्तै, श्रम तथा रोजगार कार्यालय बुटवलबाट खटिएको रोशन अर्यालसहितको टोलीले रुपन्देहीको तिलोत्तमास्थित होटल पौवा र उमाइ गार्डेन रिसोर्टको अनुगमन गरेको थियो। होटल पौवामा ६० जना श्रमिकलाई नियुक्तिपत्रबिनै काममा लगाइएको पाइएको छ। उमइ मेन्चर्स प्रालिमा पनि २० जना श्रमिकलाई नियुक्तिपत्रबिना काममा लगाइएको भेटिएको छ। अनुगमन टोलीले माग गरिएका विवरण कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएको छ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख निरज देवसहितको टोलीले इटहरीस्थित कुनाल स्टोरको अनुगमन गरेको थियो। त्यहाँ सात जना श्रमिकलाई नियुक्तिपत्रबिना काममा लगाइएको, श्रम अडिट पेस नगरेको र सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध नभएको पाइएको छ। टोलीले आवश्यक कागजातसहित सात दिनभित्र श्रम तथा रोजगार कार्यालय विराटनगरमा उपस्थित हुन निर्देशन दिएको छ।

श्रम तथा रोजगार कार्यालय जनकपुरबाट सरोजकुमार साहसहितको टोलीले महेन्द्रनगरस्थित न्यूरिया कलेक्सन र आरती बस्त्रालयमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा एक जना श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको र एक जनालाई नियुक्तिपत्रबिना काममा लगाइएको भेटिएको छ। टोलीले रोजगार सम्झौता गराउन र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न निर्देशन दिएको छ।

यसैगरी, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रबाट प्रशान्तकुमार श्रेष्ठसहितको टोलीले ललितपुरस्थित अविरल डेरी प्रालिमा अनुगमन गरेको थियो। त्यहाँ ४५ जना श्रमिकलाई नियुक्तिपत्रबिना काममा लगाइएको पाइएको छ।

अनुगमनका क्रममा प्रतिष्ठानले श्रम अडिट नगराएको, श्रमिकलाई पूर्ण रूपमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध नगराएको, बैंकिङ प्रणालीबाट तलब भुक्तानी नगरेको र सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएको पनि भेटिएको छ। टोलीले श्रम अडिट पेस गर्न र श्रमिकलाई तत्काल आवश्यक सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ।

अनुगमनबाट श्रमिकको नियुक्ति, पारिश्रमिक, सामाजिक सुरक्षा र कार्यस्थलको सुरक्षासम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयनमा कमजोरी देखिएको छ। सम्बन्धित कार्यालयहरूले प्रतिष्ठानलाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन्।

प्रकाशित: १९ कार्तिक २०८३ ०७:५४ बिहीबार