समाज

रास्कोट नगरले विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने

कालिकोटको रास्कोट नगरपालिकाले विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नगरको १२ औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।

नगरले वडा कार्यालय निर्माण, स्वास्थ्य बिमा लागू गर्ने, कृषि क्षेत्रको विकासका लागि बृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ।

नगर प्रमुख धर्मराज शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत आर्थिक वर्ष २०७९/८० का सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा नर्सिङ कार्यक्रम, वडाका भवन निर्माण, खानेपानी सञ्चालन, लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिने बताए। 

पर्यटन विकासका लागि देउरामालिका हुँदै बडिमालिका सम्म बाटो निर्माण कार्यलाई प्राथमिकता दिने बताइएको छ। नगरको नीतिमा स्थानीय रैथाने वालिको संरक्षणका लागि भटमास, कोदो, सिमी, कागुनो र फापर खेतीलाई जोड दिन कृषकलाई प्रोत्साहन गर्ने बताइएको छ। 

यस्तै शिक्षातर्फ विद्यालय समायोजन, शैक्षिक गुणस्तर सुधारका लागि प्रअ र सुरक्षा गार्डलाई पूर्णकालीन बनाइने उल्लेख छ। रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ४९ करोड बजेट ल्याएको छ।

नगर उपप्रमुख मनिराज बरालले बजेट प्रस्तुत गर्दै नगरको विकासमा लागि ४९ करोड ९१ लाख १५ हजार सात सय रुपियाँ रहेको बताए। उनले मुलुकको आर्थिक मन्दीकाबीच बजेट कार्यान्वयन गरिएको जनाए।

प्रकाशित: ७ असार २०८० १५:११ बिहीबार