टीकापुर नगरपालिकाका योजना शाखा प्रमुख नवराज जोशीको जिम्मेवारी खोसिएको छ। कार्यपालिका बैठकले गरेको निर्णय विपरित आफूखुशी काम गर्न खोजेपछि उनलाई शाखाको जिम्मेवारीबाट मुक्त गरिएको स्रोतले जानकारी दिएको छ।
उनले कार्यपालिका बैठकको निर्णय अनुसार मिति २०७९ चैत ७ गते प्रकाशित सूचनामा उल्लेख भएको बाहेकको सडक मर्मत गर्न खोजेका थिए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरस्थित कार्यालयमा मुद्दा तामेलीमा रहेको सडक मर्मत गर्न खोजेको बताइको छ। जुन सडक यसअघि समेत मर्मत भैसकेको थियो।
टीकापुर नगरपालिका वडा नं. ७ स्थित सोनाहाफाँटा स्कुलदेखी डल्फिन क्षेत्र जाने सडक २०७८ असारमा निर्माण भएको थियो। सो सडक २२ लाख ४४ हजार रुपैयाँ लागतमा आशिष कन्स्ट्रक्सन एण्ड कन्सर्नले निर्माण गरेको थियो।
स्थानीयका अनुसार २६२ मिटर लामो सडक निर्माण सम्पन्न भएको चार महिनामै भत्किए पछि सडक विरुद्ध आयोगमा उजुरी परेको थियो। आयोगको टोलीले सडकको स्थलगत परीक्षण गरेर गुणस्तरहिन भएको प्रमाणित गरेको थियो। सडक निर्माण गुणस्तरहिन भएपछि निर्माण कम्पनीले २०७९ असारमा सडक पुनः निर्माण गर्यो। उसले २०७९ असोजमा धरौटी वाफत्को रकम नगरपालिकाबाट फिर्ता लग्यो।
निर्माण कम्पनीले धरौटी फिर्ता लगे पछि सडक पुनः भत्किन सुरु भयो। दोस्रो पटक समेत सडक भत्किन थालेपछि नगरपालिकालाई टाउको दुखाई बन्यो। तत्कालिन प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख जोशीले आयोगको कार्यालय पुगेर बयान समेत दिएका थिए। सडक निर्माणका क्रममा लापरवाही गरेको भन्दै जोशी माथि दवाव पर्यो। स्थानीयले समेत दवाव दिन थाले। नगरपालिकाले निर्माण गरेका अन्य सडकको अवस्था पनि गुणस्तरीय छैन। ती सडकका बारेमा समेत स्थानीयले आवाज उठाउन थालेपछि जोशी आत्तिए।
उनले पटकपटक सडक भत्किनु र आयोगमा उजुरी समेत रहेकाले अन्यत्रको मर्मत गर्ने सडकको बजेट खर्चेर विवादमुक्त हुन चाहेर नै सूचीमै नभएको सडक मर्मत थालेका हुन्।
नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह नेतृत्वको टोलीले अनुगमनका क्रममा योजनामा नरहेको सडक मर्मत भैरहेको भेटाए। टोलीले निर्माण कम्पनीसँग सोधपुछ गर्दा जोशीकै निर्देशनमा सडक मर्मतको काम सुरु भएको जानकारी पाएको थियो।
उनले आयोगको उजुरीबाट उम्किनका लागि नगरपालिकालाई नै जानकारी नदिएर आफूखुशी सडक मर्मत गर्न लगाएको बुझिएको छ। नगरपालिकाले कारवाही गरेर जिम्मेवारी मुक्त गरेपछि जोशी अहिले आफ्नै खर्चमा सडक मर्मत गरिरहेका छन। उनको जिम्मेवारी ईन्जिनियर नविन ओझालाई दिइएको छ।
प्रकाशित: ३ असार २०८० ११:०० आइतबार