समाज

भदौमा भएका सवारी दुर्घटनामा १२ को मृत्यु

जिल्लामा रहेका त्रिभुवन राजपथ, पूर्व-पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग र ग्रामीण सडकहरूमा सवारी दुर्घटना भयावह बन्दै गएको छ। पथलैया-हेटौंडा त्रिभुवन राजपथ, पथलैयादेखि पूर्व जाने पूर्व-पश्चिम महेन्द्र राजमार्ग, वीरगन्ज-पथलैया व्यापारिक मार्ग र वीरगन्ज-कलैया-बरियारपुर हुलाकी सडकमा सवारी दुर्घटना भयावह भएको हो।

सवारी दुर्घटनामा परी ठुलो संख्यामा मानिसले ज्यान गुमाउने, घाइते भएर अंगभंग हुनुका साथै सवारी साधन पनि क्षतिग्रस्त हुँदै आएका छन्। राजमार्गहरूमा चल्ने सवारी साधन जाँच गर्न जताततै ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी देखिए पनि सवारी दुर्घटनामा कुनै कमी आएको देखिँदैन। भदौ महिनामा मात्रै बारामा सवारी दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। साथीले चलाएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका जितपुरसिमरा उपमहानगरपालिकाको रमौलीनिवासी राजु सहनीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

भदौ ३० गते मोटरसाइकलमा सवार भई जितपुरसिमराको रमौली गाउँमै घुम्ने क्रममा लडेर घाइते भएका सहनीको उपचारका क्रममा भदौ ५ गते काठमाडौंमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले बताएका छन्। मोटरसाइकल दुर्घटनामा घाइते भएपछि सहनीलाई सुरुमा नारायणी अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौं लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको भट्टले बताए। दुर्घटनाका विषयमा अनुसन्धान भइरहेकाले मोटरसाइकल नम्बर र चालकको नाम गोप्य राखिएको उनले बताए। मृतक राजु सहनीका आमाबुबाले छोरालाई मोटरसाइकलमा बोलाएर लगी हत्या गराएको आरोप लगाएका छन्।

भदौ २८ गते कलैया-गन्जभवानीपुर सडक खण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा कलैया उपमहानगरपालिका- ४ अदालत रोड निवासी ३५ वर्षीय साहेब देवानको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका देवानलाई परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ। अर्का मोटरसाइकल चालक करैयामाई गाउँपालिका- ७ का डिके चौधरी र अञ्जित चौधरी गम्भीर घाइते भएको बारा प्रहरीले बताएको छ।

भदौ २६ गते कलैया-वीरगन्ज सडकखण्डमा सुमोको ठक्करबाट प्रसौनी गाउँपालिका- ५ प्रसौनीका १९ वर्षीय अलोककुमार साहको मृत्यु भएको बारा प्रहरीले जनाएको छ। कलैया उपमहानगरपालिका- २३ स्थित गार्डेन भ्यु रिसोर्टनजिकै राति वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना. १ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका साहलाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो। दुर्घटनास्थलबाट उद्धार गरी गम्भीर घाइते भएका साहलाई प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। कलैयामा उपचार हुन नसकेपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा लगिँदा उपचारकै क्रममा साहको मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

भदौ २० गते पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको दुधौरा-पिलुवा सडकखण्डमा टिपरको ठक्करबाट जितपुरसिमरा उपमहानगरपालिका- १६ डुमरवानानिवासी देवबहादुर चोरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। जितपुरसिमरा उपमहानगरपालिका- १ बैजुरा पुलनजिकै ना १ अ.यो. १३४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको २-०३-०२२ प ९६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिक्षकसमेत रहेका चोरेलको टाउकोमा चोट लागेका कारण उनको मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताएका छन्।

भदौ १७ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका- १६ ढुंग्रे पुलनजिक मोटरसाइकल दुर्घटनामा परी चितवनको खैरहनी नगरपालिका- ६ का रञ्जन शर्मा पौडेलको मृत्यु भएको थियो। पथलैयाबाट चन्द्रपुरतर्फ जाँदै गरेको बा.प्र.-०६-००८ प ३२३० नम्बरको मोटरसाइकल चलाइरहेका पौडेल दुर्घटनामा गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका पौडेललाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताएका थिए। सो दुर्घटनामा सुनसरीको बराह गाउँपालिका- ५ का २७ वर्षीय खगेन्द्र पण्डित र २५ वर्षीय रामशरण पण्डित घाइते भएका छन्। ग १४ प २४१ र ग १६ प ५७८१ नम्बरका मोटरसाइकलमा उनीहरू सवार रहेको बारा प्रहरीले जनाएको छ।

भदौ १६ गते वीरगन्ज-पथलैया व्यापारिक मार्गमा परवानीपुर गाउँपालिका- ४, केडिया आँखा अस्पतालअगाडि सडक पार गर्ने क्रममा वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०९०१ नम्बरको इभीको ठक्करले भारत मोतीहारी जिल्लाका सात वर्षीय महम्मद इसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। घटनापछि इभी चालक वीरगन्ज महानगरपालिका- ३२ का लक्ष्मण पासवानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय परवानीपुरका प्रहरी नायब निरीक्षक बालराज गिरीले बताएका थिए। 

भदौ १२ गते बाराको कलैया उपमहानगरपालिका- १४ लक्ष्मीनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय सुजित पाण्डेको ज्यान गएको बारा प्रहरीले जनाएको छ। कलैयाबाट बघवनबाट जाँदै गरेको मधेस प्रदेश ०३-०२८ प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ।

भदौ ३ गते चन्द्रनिगाहपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना ४८ प ५६९३ नम्बरको मोटरसाइकलले निजगढको लिच्चीटोल चोकनजिक ठक्कर दिँदा निजगढ नगरपालिका- ९ लिच्चीटोलका चन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको छ। बजारबाट घर फर्कने क्रममा उनलाई मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराका प्रमुख ट्राफिक प्रहरी निरीक्षक हरी भट्टराईले ट्राफिक नियम पालना नगर्दा नै सवारी दुर्घटना बढेको बताएका छन्।

अधिकांश मोटरसाइकलमा बिना हेल्मेटका तीनतीनजना सवार हुने, बढी गतिमा मादक पदार्थ सेवन गरेर राजमार्गमा गाडी चलाउनेलगायतका कार्य गर्दा सवारी दुर्घटनामा वृद्धि हुन पुगेको उनले बताए। बारामा बढी मात्रमा मोटरसाइकल दुर्घटना वा ठक्करबाट धेरैले ज्यान गुमाउन अवस्था रहेको उनले बताए। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले सवारी दुर्घटना न्यून गर्न ट्राफिकले सडक र राजमार्गहरूमा विभिन्न कार्यक्रम गरिरहेको बताएका छन्।

प्रकाशित: ६ आश्विन २०८३ १२:३७ मंगलबार