समाज

यात्रुवाहक गाडी र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते

सर्लाहीमा यात्रुवाहक गाडी र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

जिल्लाको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश ०१–०२–००२ ख १३२४ नम्बरको ट्रकसँग ठोक्किएको थियो।

दुर्घटनामा ईभी चालकसहित १२ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका बारा जिल्लाको सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित रामलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटना घाइते भएका ईभी चालकसहित अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४ क्याम्पसचोकका करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App