समाज

कीर्ते कागज बनाई वनको जमीन हडप्ने भूमाफिया पक्राउ

रौतहट– कीर्ते कागज बनार्इ राष्ट्रिय वनको जमीनलाई आफ्नो नाममा दर्ता गराएकाे आरोपमा रौतहट प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालिन रंगपुर गाविस– १ हाल गुजरा गाउँ पालिकाका– १ का नारायण बन्ठा रहेका छन् । नेकपा एमालेका कार्यकर्ता रहेका बन्ठा पूर्व गाविस अध्यक्षसमेत हुन् ।

रौतहट जिल्लाको उत्तरी भेगमा पर्ने तत्कालिन रंगपुर गाविस– ५ मा रहेको राष्ट्रिय वनको स्वामित्वमा रहेको जग्गालाई विस्तारै अतिक्रमण गर्दै उजाड बनाइएका करिव १ सय २२ विघा जग्गा विभिन्न व्यक्तिले आफ्नो नउाँमा पार्न सफल भएका थिए।

सरकारी छाप र मोहरको कीर्ते गरी कर्मचारीहरुको मिलोमतोमा सर्लाही रानीगंजका दुर्गाबहादुर कार्की, घुर्कउली सर्लाहीका देवबहादुर बस्नेत, श्यामकुमार मल्ल, लोकबहादुर बस्नेत, खम्बबहादुर बस्नेत, पबित्रकुमार कार्की, लालबन्दी सर्लाहीकी ढालकुमारी खड्का सिर्थली सर्लाहीकी कृष्ण कुमारी खड्का रामेछाप बाम्तीका केसवकुमार कार्की, रंगपुर ४ रौतहटका नारायण बण्ठा, शोन फुल खाँ, भैरव चौधरी, सन्तपुर ७ रौतहटका हरिचरण चौधरी, ओखलढुंगा रुम्जाटारका बासुदेव लामिछाने, दीपक दाहाल, रत्नकला लामिछाने काठमाण्डौकी राधिका बस्नेत, निलम कार्की, बिष्णुबहादुर कार्की, बलराम खनाल, खड्ग कुमारी कार्की, सोलुखुम्बुका जनकदेव बस्नेत, रामेछापका रन्जन कार्की, ओखलढुंगाका दिलनारायण लामिछाने सिर्थउली सिन्धुलीका सुदीप कार्कीको नाममा किक्ताकाट भएर वनको जग्गा हत्याएको नापी कार्यालय रौतहटको श्रेष्ता अभिलेखमा उल्लेख रहेको छ।

सरकारी छापको कीर्ते गरी वनको जग्गा आफ्नो नाममा पारेकाहरुमध्ये अधिकांश फरार छन्। जिल्ला वन कार्यालयले व्यक्तिको नाममा गएको राष्ट्रिय वनको जग्गालाई व्यक्तिको नामबाट खारेज गरी जग्गा हत्याउनेहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका पूर्व गाविस अध्यक्ष बन्ठालाई शुक्रबार प्रहरी चौकी रंगपुरका प्रमुख दीपकुमार राई र इलाका वन कार्यालय सिमरीका सहायक वन अधिकृत वैद्यनाथ मन्डल सहितको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका बन्ठाविरुद्ध वन ऐन २०४९ को दफा १६ को १ कसुरमा दफा ५० को २ बमोजिम दुई वर्ष कैद र दश हजार जरिवाना हुने कानुनी व्यवस्था भएको जिल्ला वन कार्यालय रौतहट प्रमुख दीर्घ कोइरालाले बताएका छन्।

वन कार्यालयका तत्कालीन रेन्जर राम केवल यादवको संलग्नतामा वनको जग्गा व्यक्तिको नाममा गएको आरोपमा जिल्ला वन कार्यालय गुल्मीमा कार्यरत यादवविरुद्ध मुदा चलाइएको छ। यादवलाई रौतहट झिकाई दैनिक तारेखमा राखिएको वन प्रमुख कोइरालाले बताए।
 

प्रकाशित: १८ चैत्र २०७३ १४:४० शुक्रबार

कीर्ते कागज बनाई वनको जमीन हडप्ने भूमाफिया पक्राउ