समाज

टुकुचा खोला छोप्ने कार्य बर्जित हो, अदालतले महानगरको कार्यलाई मान्यता दियोः बालेन शाह

टुकुचाको प्राकृतिक अधिकार पुनः स्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन्।

उच्च अदालत पाटनबाट टुकुचाका बिषयमा भएको फैसलाको पूर्ण पाठलाई उधृत गर्दै प्रमुख शाहले खोला छोप्ने कार्य बर्जित भएको र बर्जित कार्यलाई सक्रियतापूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप चालेका कुनै पनि कदम खेर नगएको बताएका हुन्।

आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर शाहले भनेका छन्, ‘केही दिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ। टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ। नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधि शास्त्रको, घोषणा गरेको छ।’

अदालतको फैसलाले फैसलाले टुकुचा खोला अर्थात इच्छुमती नदीको प्राकृतिक अधिकार पुनःस्थापना तथा संरक्षणको लागि काठमाडौँ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ।

‘कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, त्यसको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ। तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।’ उनले भनेका छन्। 

प्रकाशित: २४ वैशाख २०८० ०९:३७ आइतबार

टुकुचा