समाज

मधेसका साहसी किशोरीहरू

आफ्नो बालविवाहको बन्धन मात्र तोडिनन्, गाउँलाई नै बालविवाहमुक्त बनाइन्

एसइई परीक्षा दिएर फर्किंदा अपरिचित मानिसले घर भरिएको थियो । बुवाआमा उनलाई तयार भएर आउन अत्याउन थाले। ‘मेहमान’ (पाहुना) आएको छ भन्दै आमाले चिटिक्क परेर आउन अराइन्। उनी मानिन् पनि। सामान्य पहिरनमै उनी अपरिचित मानिसमाझ उभिइन्। छोटो परिचय दिएर आफ्नो कोठामा फर्किइन्। 

उनलाई अहसज  अनुभूति भैरहेको थियो। कौतुहलता बढ्दै थियो। ती अपरिचित अनुहार आफूलाई बेहुलीको रुपमा भित्र्याउन आएको थाहा पाएपछि उनी अवाक भइन्। यो कथा हो, पर्सा जिल्ला पोखरिया नगरपालिका–८ जगतपुरकी आशाकुमारी साहको। उनलाई आमाबुवाले किशोरी उमेरमै विवाह गर्दै थिए। उनले विवाहको प्रस्ताव अस्वीकार गर्दै बुवाआमालाई सम्झाउन थालिन्। तर, जति सम्झाउँदा बुवाआमाको जिद्दीका अगाडि उनको जोर चलेन। भारतको इनर्वा गाउँमा उनको विवाह गर्ने पक्कापक्की भयो। त्यसका लागि आशा पक्षले तीन लाख नगद र एक थान मोटरसाइकल व्यवस्था गर्नुपर्ने भयो।

२०७६ असारमा आशाको विवाहको छेका (टीकाटालो) भयो। केटा पक्षलाई एक थान मोटरसाइकल र तीन लाख नगद पनि दिइयो। छेका भएपछि आशाले खानपिउन छाडिन्। उनी कोठा थुनेर एक्लै बस्न थालिन्। र, आमाबुवालाई आफूले विवाह अस्वीकार गर्नुपरेको कारण बुझाउन थालिन्। बुवा रामबाबु र आमा तेतरीदेवीलाई जति बुझाउन खोज्दा पनि आशाको विवाह गरेर छाड्ने जिद्दीबाट पछि हट्न चाहदैनथे। तर, आशाले पनि हार मानिनन्। किशोरी उमेरमा विवाहको हानिकारक पक्ष बुझाएर बुवाआमालाई मनाउन सक्छु भन्ने हौसला बुलन्द राख्दै उनले निरन्तर प्रयास गरिरहिन्। उनको अदम्य साहस र हिम्मतले नै किशोरावस्थामा विवाह गर्नु कानूनी र स्वास्थ्यका दृष्टिकोणले अनुचित हो भन्नेमा बुवाआमालाई सहमत गराएरै छाडिन्।

यसपछि आशाका बुवाआमा छोरीको निर्णयमा सहमत भए। मंसिरमा छिनिएको आशाको विवाह कात्तिकमा टुट्यो। छेकामा भएको खर्चबाहेक मोटरसाइकल र नगद केटापक्षबाट फिर्ता लिएर आशाको विवाह टुट्यो। यो विवाह हुन नदिन आशाले गरेको आँट अदम्य थियो। आमाबुवाको जिद्दीपन तोड्न आशालाई पाँच महिना लाग्यो। हौसला कायम राखेर उनले किशोरावस्थामा विवाह गर्दाको हानिकारक पक्षबारे बुवाआमाको चित्त बुझाउन पाँच महिना लागेको थियो। विवाह टुट्यो त के भयो भन्ने नसोच्नु होला किनभने मधेसी समाजमा विवाह टुट्नु ठूलो बेइज्जतीको विषय हो।

विवाह टुट्दा समाजमा कुरा काट्ने र खिसी उडाउनेहरू बढे। पाइला पाइलामा आशा र उनका परिवारले कटु वचनको सामना गर्नुपर्‍यो। विवाह तोडेर समाजमा बस्नु सजिलो थिएन। उनले हरेस खाइनन्। समाजसँग जुझ्दै जीवनको गति पढाइमार्फत अगाडि बढाइरहिन्। घरबाट बाहिर निस्कियो कि गाउँलेले उनको कुरा काट्न थालिहाल्थे। तर, उनी त्यसलाई वास्ता गर्दिनथिन्। बरु, आफूलाई सम्हाल्दै पढाइ अगाडि बढाउँथिन्। पछि त्यही समाजका केही किशोरी र महिला उनका सहयोगी बने। हौसला बढाउने किशोरी र महिला समूहकै कारण उनका पाइला डगमगाएनन्।

विस्तारै समय घर्किंदै गयो। आशाले आफ्नो पढाइलाई अघि बढाइन्। एसइईपछि उनले प्राविधिक कृषि अध्ययन गरिन्। पढाइमा जेहेनदार उनी कृषि प्राविधिकको पढाइमा उत्कृष्ट स्थान हासिल गर्न सफल पनि भइन्। विवाह टुटेपछि सामाजिक अपहेलना सहँदै आशाले पढाइमा उत्कृष्ट स्थान प्राप्त गरिन्। त्यसपछि भने उनलाई हेर्ने समाजको नजर फेरिएको छ। हिजोसम्म होच्याउने समाजले अहिले उनलाई इज्जत गर्ने गरेको छ। समाजले नै उनीमाथि गर्व गर्न थालेको छ।  

आशाले गाउँकै मुखदेव सुशीला माध्यमिक विद्यालय प्राविधिकधारबाट कृषि विषय पढेकी हुन्। अब उनी छात्रवृत्तिमा स्नातक पढ्न तयारीमा जुटेकी छन्। 

विवाहबारे सोध्दा उनी भन्छिन्, ‘स्नातक गरेर जागीरको तयारी गर्छु। विवाहबारे अहिले सोचेकै छैन।’

जगतपुरकै आरती गुप्ता १७ वर्षकी भइन्। १६ वर्षकै उमेरमा उनको विवाहको तयारी थालिएको थियो। कक्षा ७ मा पढ्दै गर्दा आरतीको विवाहका लागि आमाबुवा केटा हेर्न थालिसकेका थिए। आरतीलाई हेर्न भारतको जुबाहा, बेलबनिया र नरकटिया गरी तीन ठाउँबाट केटा पक्ष आएका थिए। २०७९ असारमा बुवाआमाले उनको विवाह तय गर्ने पक्का पनि गरिसकेका थिए। बुवाआमाबाट विवाहका लागि प्रस्ताव आएपछि आरतीले अस्वीकार मात्र गरिनन्, मञ्जुरीबेगर विवाह गरे कानुनी उपचारमा जाने चुनौतीसमेत दिइन्। उमेर नपुगी गरिने विवाह कानुनतः अपराध हुने कुरा आरतीले बुवाआमालाई बताइन्। 

कानुनी रुपमा अपराध र स्वास्थ्यको दृष्टिकोणले नकारात्मक हुने उमेरमा गरिने विवाहलाई कुनै सर्तमा पनि स्वीकार  नगर्ने उनले आमाबुवासमक्ष अडान राखिन्। उनले बुवाआमालाई किशोरी उमेरमा विवाह गर्दाको कानुनी र स्वास्थ्यका हरेक पक्षबारे सम्झाइन्। तीन छोरीका आमाबुवा रामबालक र राधिकाले यो कुरालाई त्यो बेला उति गम्भीरतापूर्वक लिएनन्। कान्छी बहिनीको पनि विवाह गर्नुपर्छ । गरिब परिवारको छोरी धेरै पढेर केही हुनेवाला छैन। तिमीले बिहे गरेर बोझ हल्का गरिदेऊ भन्दै आमाबुवाले आरतीलाई सम्झाउँथे।

‘गरिब मान्छेले पढाइमा खर्च गर्नु कि विवाहमा ?’ भन्दै आमाबुवाले आफ्नो मजबुरी सुनाउँथे। राष्ट्रिय प्राथमिक विद्यालय गरदौलको कक्षा ७ मा अध्ययनरत आरती कक्षाको प्रथम विद्यार्थी थिइन् तर उनलाई विवाह र पढाइमध्ये एउटा रोज्नुपर्ने बाध्यता थियो। विवाह गरे पढाइसँगै आफ्नो सपना पनि टुट्थ्यो। उनले तत्काल पढाइ छाडेर विवाह नगर्ने निर्णय गरिन्। र, बुवाआमालाई विवाह नगर्ने आफ्नो अडानमा सहमत गराइन्। विवाह टुटेपछि उनले बुवाआमालाई किशोरी उमेरमा विवाह गर्दाको हानिकारक पक्षबारे बेलिबिस्तार लगाइन् । उनका जायज कुरा सुनेर अन्ततः उनका बुवाआमा सहमत हुन बाध्य भए।

पहिले पढाइलाई बीचमै छाडेकी आरतीले हिम्मत नहारी आत्मनिर्भर बन्न सीप सिक्ने निधो गरिन्। उनले सिलाइकटाइ तालिम लिन थालिन् र घरमै व्यावसायिक रुपमा सिलाई गर्न थालिन्। उनलाई तालिमका लागि ज्योति किशोरी समूहले सहयोग गर्‍यो। सिलाइ गरेर महिनाको १५ हजार कमाउने आरतीले आत्मनिर्भर भएपछि भने यसै शैक्षिक सत्रदेखि पुनः पढाइलाई निरन्तरता दिइरहेकी छन्। उनले कक्षा ८ मा नामांकन गरेकी छन्। सबै कुरा ठीक भयो भने नर्स बन्ने आफ्नो सपना पूरा हुने अपेक्षा गरेकी छन्।  

उनको खान्दानकै पहिलो नर्स बनेर महिलाको स्वास्थ्य उपचारमा सहयोग गर्ने सोच उनले पालेकी छन्। उनी भन्छिन्, ‘मेरो सपना नर्स बनेर महिलाहरूको स्वास्थ्य सेवासँगै किशोरी उमेरमा विवाह गर्दाको हानिकारक पक्षबारे जागरण फैलाउनु हो।’ विवाहबारे उनको प्रस्ट विचार छ, ‘मैले देखेको सपनामा सहकार्य गर्नेसँग विवाह गर्छु। मेरो सपना बालविवाहमुक्त समाजको निर्माण हो।’  

आरती र आशा नातामा दिदीबहिनी हुन्। आशाका काकाकी छोरी हुन्, आरती। यी दिदीबहिनीले आफैं बालविवाह नगरेका मात्र होइन, उनीहरूको गाउँका अन्य किशोरी तथा बालिकाहरूको पनि बालविवाह रोक्ने अभियान सञ्चालन गरिरहेका छन्। उनीहरूले बालविवाहविरुद्ध थालेको अभियान यतिबेला वरपर फैलिँदो छ। यस अभियानमा प्रत्यक्ष रुपमा ९ जना किशोरीहरू ‘ज्योति किशोरी समूह’मार्फत जोडिएका छन्। उनीहरूले थालेको अभियानका कारण यस गाउँमा बालविवाह रोकिएको छ भने छिमेकका गाउँमा पनि बालविवाह गर्ने कसैले आँट गर्न सकेका छैनन्।

पोखरिया गाउँपालिकाको जगतपुर गाउँभरिका मानिस बालविवाह विरुद्धको अभियानमा आशा र आरतीसँगै जोडिएका छन्। नजोडिएका ठाउँमा क्रमशः जोडिँदै छन्। आरती र आशाको साहसका कारण बालविवाह विरुद्धको अभियान प्रभावकारी बन्न थालेको छ।  

आशा भन्छिन्, ‘मधेसमा बालविवाह ठूलो समस्या बनेको छ । सानै उमेरमा छोरीको बिहे गर्दा शिक्षा तथा लालन–पालनमा लगानी गर्नु नपर्ने र दाइजो पनि कम दिए पुग्ने आम अभिभावकको बुझाइ छ।’ 

छोरीले प्रेमविवाह वा भागीविवाह गर्न सक्ने डर पनि अभिभावकलाई छ। त्यसैले अभिभावकहरू कम उमेरमै छोरीको विवाह गराउन पाए हुन्थ्यो भन्ने सोच्छन्।

देशभरि बालिकाको अवस्था कठिन भए पनि प्रदेशगत रुपमा मधेसमा झनै दयनीय देखिन्छ । बालविवाह, दाइजो प्रथा, किशोरी उमेरमा आमा, असुरक्षित गर्भपतन, शिक्षा र स्वास्थ्यमा पहुँचजस्ता सबै पाटोले मधेसमा बालिका अति जोखिम र असुरक्षित रहेको देखाउँछ ।  

मधेसमा बालविवाह र शिक्षामा असमानताको एउटा कारण दाइजोसँग पनि जोडिएको छ । छोरीलाई जति बढी पढायो, त्यसैअनुसार पढेको र जागिरे ज्वाइँ खोज्नुपर्ने र बढी दाइजो दिनुपर्ने चिन्ताले धेरै अभिभावकले कम उमेरमै छोरीको विवाह गरिदिन खोज्छन् । अर्कातिर, ज्वाइँको पेसाअनुसार दाइजोको ‘दर’ तोकिएको हुन्छ । जसकारण छोरीलाई नपढाई वा बीचमै पढाइ छुटाएर किशोरी उमेरमै विवाह गरिदिने गरिन्छ ।  

छोरीलाई स्कुल पठाइहाले भने सरकारीमा पठाउँछन्, जबकि छोराहरू निजी स्कुलमा जान्छन्। छोरीले केही कक्षा पढेपछि वा अक्षर चिन्न र चिठी लेख्न जानिसकेपछि पढाइ छाड्न लगाउँछन् । उनीहरू घरधन्दा, साना भाइबहिनीको रेखदेखमा लाग्नुपर्छ ।  

तथ्यांक हेर्ने हो भन्ने सबैभन्दा बढी भ्रूण परीक्षण, महिला असाक्षरता, महिला गरिबी, महिला बेरोजगारी, बालविवाह मधेस प्रदेशमा छ । महिलाहरू सामाजिक, आर्थिक तथा राजनीतिक हरेक क्षेत्रमा पछाडि छन्। नेपालको महिला साक्षरता ६४ प्रतिशत छ भने मधेस प्रदेशमा ४९ प्रतिशत महिला मात्र साक्षर छन् । यस प्रदेशमा महिलाको जनसंख्या (४९.७ प्रतिशत) पुरुषको भन्दा कम छ । यसले बेटीलाई शिक्षा दिएर मात्र पुग्दैन, बेटीलाई खुसीसाथ बाँच्न दिने वातावरण पनि राज्यले विशेष व्यवस्थामार्फत तयार गर्नुपर्छ भन्ने देखाउँछ । 

लैंगिक विभेद र असमानताको तस्वीर देखाउने अर्को पाटो हो, बालविवाह । कानुनले बालविवाह निषेध गरेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार, २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न या गराउन मिल्दैन । यो प्रावधानविपरीत भएको विवाह बदर हुने र कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने ऐनले व्यवस्था गरेको छ । तापनि बालविवाह रोकिन सकेको छैन। बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले बालविवाहका कारणहरूमा महिलाभन्दा पुरुषको उमेर बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरिबी, अशिक्षा र असुरक्षालाई औंल्याएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार दक्षिण एसियाली मुलुकहरूमा बाङ्गलादेश र भारतपछि नेपाल बालविवाह उच्च हुने तेस्रो देशमा पर्छन्। परिषद्द्वारा प्रकाशित नेपालमा बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन, २०७९ ले १८ वर्षमुनि विवाह गर्ने पुरुष नौ प्रतिशत र महिला ३२.८ प्रतिशत रहेको देखाएको छ।

नेपाल प्रहरीमा पछिल्लो चार वर्ष (२०७६–७९) मा ३१७ वटा बालविवाहको उजुरी परेका छन्, जसमा बालिका विवाहको संख्या धेरै छ। तर परिवारले लुकिछिपी विवाह गराउने र सबै घटनाको तथ्यांक नआउने भएकाले बालविवाहको वास्तविक अवस्था निकै चिन्ताजनक रहेको छ ।

कम उमेरमै आफूखुसी विवाह गर्ने प्रवृत्ति पनि उत्तिकै छ। बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन (२०७५/७६) ले बालविवाह भएकामध्ये ३८ प्रतिशत अभिभावकबाट र ६२ प्रतिशत आफूखुसी गरेको देखाउँछ ।

बालविवाहको अन्त्य हुन नसक्दा यसले बालबालिकालाई आधारभूत अधिकार तथा आफ्नो भविष्यबारे निर्णय लिने अवसरबाट वञ्चित मात्र गराएको छैन, विशेष गरी बालिकाको सन्दर्भमा थुप्रै अधिकार उल्लंघनको शृंखला सिर्जना गरेर दूरगामी दुश्चक्रमा पारिरहेको छ। बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा विभिन्न स्वास्थ्य जटिलता देखिने, लैंगिक हिंसा, यौनहिंसा, बालश्रम, बेचबिखनजस्ता जोखिममा बालिका पर्न पुग्छन्।

कम उमेरमा बच्चा जन्माउँदा गर्भावस्था तथा सुत्केरी अवस्थामा विभिन्न जटिलतादेखि मृत्युसम्मका घटना निम्तिएका छन्। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार १५ देखि १९ वर्षको उमेरमा १४ प्रतिशत किशोरी गर्भवती भएको र तीमध्ये १० प्रतिशतले जीवित जन्म दिए भने दुई प्रतिशतको गर्भावस्थामै बच्चा बित्यो। बालविवाहको अर्को हानिकारक पक्ष बालिका तथा किशोरीले आफ्नै शरीरमाथिको अधिकार गुमाउन पुग्छन्। यो स्थितिमा लैंगिक समानता धेरै परको कुरा बनेको छ ।

माथिका यी कुरामा आरती र आशा बेखबर भए पनि उनीहरूलाई बालविवाह, किशोरी आमा र यसबाट हुने जोखिम र बालिकामाथिको प्रताडनाबारे थाहा छ । कतिपय आफ्नै आँखाले पनि देखिरहेका हुनाले यस्तो जोखिम न्यून गर्न किशोरी तथा बालिकाहरूको चेतनास्तर बढाउन आरती र आशा ‘ज्योति किशोरी समूह’मार्फत अघि बढिरहेका हुन्। आफूहरूले सुरु गरेको यो अभियानले किशोरी आमाहरूको संख्या घटाउन मद्दत पुग्ने बुझाइ आशाको छ। 

मधेस प्रदेशमा किशोरी आमाहरूको सो तथ्यांक घटाउन पनि मद्दत पुग्ने आशाको बुझाइ छ। अशिक्षा, गरिबी व्याप्त रहेको यस प्रदेशमा बालविवाहको मुख्य कारण जनचेतनाको कमी रहेको आरती बताउँछिन्। किशोरीको स्वास्थ्य, सुरक्षा र भविष्यका लागि बालविवाहविरुद्ध चेतनासँगै हस्तक्षेपकारी अभियानलाई अझ प्रभावकारी र परिणाममुखी रुपमा फैलाउँदै लैजाने उनीहरूको सोच छ।

बालविवाह टुटाएपछि समाजबाट अवहेलित हुँदै संघर्षको कठिन बाटो तय गर्ने क्रममा मुर्झाएका आरती र आशा बालविवाह विरुद्धको अभियान एक हदसम्म सफल हुँदा समाजको आशाको किरण बनेका छन्। माटोले लिपेको र जस्ताले छाएको घरमा बस्दै आएका आरती र आशालाई पछिल्लो समय समाजले माया र सम्मान गर्नुका साथै अभियानलाई फैलाउन ऊर्जासमेत प्रदान गर्ने गरेको छ।

अदम्य साहस र हिम्मतले उनीहरू आफू मात्र बालविवाहको दुश्चक्र तोडेर अगाडि मात्र बढेनन्, समाजका अन्य बालिका र किशोरीलाई पनि बालविवाहबाट रोकेका छन्, रोक्दै छन्।

प्रकाशित: ११ वैशाख २०८० ०९:५७ सोमबार