समाज

रौतहटको गौरमा फस्टाउँदै यौन व्यवसाय

रौतहट सदरमुकाम गौरमा यौन व्यवसाय फस्टाउँदै गएको देखिएको छ। 

एक हप्ताभित्रमा प्रहरीले दुई ठाउँमा छापामारी आधा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएपछि सदरमुकाम गौरमा यौन व्यवसाय फस्टाउँदै गएको पुष्टि भएको छ।

आइतबार सदरमुकाम गौरको बसपार्कस्थित रोयल इन्दु होटेलमा यौन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले सञ्चालिका सहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना सुरक्षाकर्मी र एक जना कर्मचारी रहेको स्रोतको दाबी छ।

जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त भएको गोप्य सूचनाको आधारमा प्रहरीले आइतबार दिउँसो रोयल इन्दु होटेलमा छापा मारेको हो। छापा मारेर २ जना पुरुष, दुई जना महिलासहित प्रहरीले होटल सञ्चालिकालाई पक्राउ गरेर अनुसन्धानको लागि हिरासतमा राखेको छ।

यौन धन्धाको आरोपमा दुई महिला, दुई पुरुष तथा उक्त कार्य गराउने होटेलकी सञ्चालिका अहिले प्रहरी हिरासतमा रहेको र त्यसबारे अनुसन्धान भइरहेको तथा अनुसन्धानपछि यथार्थ जानकारी दिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुई दिन अघि गौर नपा १ गुदरी बजार जाने गल्लीको बाटोमा संचालित साहिवा ब्युटी पार्लरको आडमा अवैध यौन धन्धामा संलग्न एक महिला एक पुरुष र ब्युटी पार्लरका सञ्चालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ।

रौतहटको गरुडा, चन्द्रपुर नपाको बागमती सहितका विभिन्न स्थानहरुका केही होटेलहरुमा यस्ता अवैध धन्धाहरू संचालन भइरहेको जानकारीमा आएको हुँदा प्रहरीले उक्त अवैध धन्धा गर्ने गराउनेहरुलाई चाँडै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारबाही चलाउने चेतावनी समेत दिएको प्रहरी स्रोतबाट बुझिएको छ। 

प्रकाशित: २६ चैत्र २०७९ १४:१६ आइतबार