समाज

‘सहिद’माथि विभेद

२०५८ फागुन २६ गतेदेखि १८ दिन अपहरण परेका प्रावि हरिगातिनाका २४ वर्षीय शिक्षक तिलकराम नेपालीलाई विद्रोही माओवादीका कार्यकर्ताले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे। रोल्पा नगरपालिका धनमुढाका नेपालीले आफ्नो परिवारलाई पत्र लेख्ने माग राखे। केही समयमा आफू मारिने जानकारी पाएका उनले २०५८ चैत १२ गते राति ९ बजे परिवारलाई ८ पेज लामो पत्र लेखे। ‘जन्म दिने बुवाआमा, मुटुका टुक्राजस्ता भाइ श्रवण, बहिनी दुर्गा, श्रीमती मीना र छोरा जयन्द्रमा मेरो साइनोअनुसार दण्डवत् र आशीर्वाद छ। बुवाआमा, भाइबहिनी, श्रीमती र छोरा सबैले सुनौं, यो मेरो अन्तिम चिठी हो। यसमा मैले धेरै लेखेको छैन। समयको घडी यस्तै रहेछ। यो पत्र लेख्दाको समयसम्म म जीवितै छु।’ पीडाले भरिएको चिठीमा उनले अगाडि लेखेका छन्, ‘सोधपुछ र छानबिन अझै पनि होलाजस्तो लागेको थियो। तर दुईपटक मात्र प्रश्न सोधियो र मलाई मार्ने निर्णय गरियो। म अब घर कहिल्यै आउन नपाउने भएँ।’

२०५८ चैत १३ गते राति सदरमुकामछेउमा मारिनुअघि लेखिएको उक्त पत्र तिलकको शवको छातिमाथि राखिएको थियो। अन्तिम पत्रमा उनले परिवारभित्र बेमेल नबढाई मिलेर बस्न पटकपटक अनुरोध गरेका छन्। ‘तिमीहरू आआफ्नो व्यक्तिगत पाराले नचल्नू। आफ्नो र परिवारको इज्जतको ख्याल गर्नू। साँझबिहान आँटोढिँडो वा गरिबीको खाना खाएर भए पनि आफ्नो इज्जत र जीवन ठुलो मान्नू। सानातिना कुरामा विवाद नगर्नू,’ राजनीतिक गन्ध कतै नघुसाइएको अन्तिम पत्रमा नेपालीले लेखेका छन्।

‘प्रिय मीना ! तिम्रो काखमा मेरो रगतको अस्तित्व छोरो जयन्द्र छ। वैशाखमा कोखको अर्को बच्चा पनि जन्मिन्छ होला। छोरा वा छोरी जे जन्मिए पनि राम्रो स्याहारसुसार गरी बचाएर राख्नू। दुःख भयो भनी हिम्मत नहार्नू।’ उनले श्रीमतीलाई सम्झाउँदै लेखेका छन्, ‘मबाहेक अरू घरबार नगर्नू। लोभलालचमा फसेर बदनाम नहुनू। तिमीले पनि दुःख पाउन सक्छ्यौ।’ गरिबीका कारण आफूले सोचेअनुसार पढ्न नपाउनुको पीडा लेखेका तिलकले छोराले धेरै पढून् भन्ने अपेक्षा पत्रमार्फत राखेका थिए। ‘बाख्रा, कुखुरा, दुध बेचेर भए पनि छोरालाई पढाउनू।’ पैसा नहुँदा नियमित क्याम्पस पढ्न नपाएको र आर्थिक जोहोका लागि विद्यालय पढाउने क्रममा मारिनुपरेको पीडालाई तिलकले पत्रमा कोरेका छन्। ‘सानो जागिर खाएर भए पनि परिवारमा खुसी बाँड्ने रहर थियो तर त्यो सबै मसँगै सकिने भयो।’  

अन्तिम इच्छा पूरा भएपछि मारिएका तिलक यतिबेला नेपाल सरकारले राजपत्रमा घोषणा गरेको सहिदको सूचीमा अटाएनन्। उनका छोरा जयन्द्र र छोरी ममता यतिबेला पढाइका लागी संघर्षरत छन्। तिलककी श्रीमती मीना रोल्पा सदरमुकाममा सानो होटल सञ्चालन गरेर जीविका चलाउँछिन्। परिपूरणका नाममा किस्ताकिस्तामा १० लाख पाएको यो परिवार न्याय नपाएर मात्र होइन, पछिल्लो समय सरकारले गरेको सम्मान पनि नमिल्दा खिन्न छ। ‘मरेको मान्छेमाथि पनि राजनीति गर्छन्? हाम्रो दुःखपीडा त हेरेनन् नै, आज आएर सहिदमाथि नै विभेद भयो। साँच्चिकै मन दुखेको छ।’

२०५३ माघ १९ गते सदरमुकाम लिवाङ आउँदै गर्दा थवाङ–५ उवाका रामजी घर्तीलाई तत्कालीन विद्रोही पक्षले जैमाकशलाको मावाङमा बीभत्स हत्या गर्यो। कांग्रेस भएकै कारण मारिएका उनको परिवारले पनि आजसम्म न्याय पाएको छैन। पछिल्लो समय सरकारको निर्णयमा आएको सहिद लिस्टमा रामजीको पनि नाम अटाएन। बुवाको नाम सहिदको सूचीमा नदेखेकी उनकी छोरी श्रीकुमारी रोका दुखी बनेकी छन्। ‘योभन्दा अन्याय अरू केही हुन सक्दैन,’ रोका भन्छिन्, ‘राज्यले सहिदमा पनि विभेद गरेको छ।’  

सरकारी तथ्यांकअनुसार अर्थात् द्वन्द्वकालका मृतकका नाममा १० लाख राहत पाएका ९६९ भए पनि सरकारले निकालेको राजपत्रमा सहिदको सूचीमा ७५३ जनाको नाम मात्रै अटाएको छ। यसरी हेर्दा २१६ जना सहिदमाथि विभेद गरिएको छ। ‘रोल्पामा दुवै पक्षका धेरै छुटेका छन्। एउटै लडाइँमा मारिएकामध्ये कोही परेका छन्, कोही छुटेका छन्।’ स्थानीय शान्ति समिति रोल्पाको पूर्वसंयोजक खेम बुढा भन्छन्, ‘तथ्यांक संकलन नै त्रुटिपूर्ण छ। कुन च्यानल प्रयोग गरेर नामावली तयार गरियो, त्यो थाहा भएन। यो त्रुटि सच्याउनुपर्छ।’ सहिदको नाम छुटेको गुनासो आइरहँदा जिल्ला प्रशासन कार्यालयमार्फत छुटका लागि निवेदन मागिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए। ‘छुटेकाको निवेदन स्थानीय तहमार्फत ल्याउन लागिएको छ। निश्चित समयावधिभित्र नामावली माथि पठाउँछौं।’  

प्रकाशित: २६ चैत्र २०७९ ००:४१ आइतबार