समाज

ओझेलमा राणाकालीन मुडा बजार

ओझेलिएको राणाकालीन मुडा बजार।तस्बिर: पुष्पराज/नागरिक

नजिकैको ‘कान्छो बजार’का रूपमा रहेको बौनियामा चहलपहल उत्तिकै छ। सूर्योदयदेखि अबेला रातिसम्म बौनिया बजार मानिसको भिडभाडले भरिएकै हुन्छ। बौनिया बजारदेखि उत्तरतर्फ सेती लोकमार्गको ट्र्याक खुलिरहेको छ। सो ट्र्याक चुरे क्षेत्र हुँदै डोटी अछाम जोडिनेछ भने दक्षिणतर्फ जोशीपुर–भजनी सडकले बौनिया बजारमा यात्रुको घुइँचो बढाएकै छ। तर, त्यही नजिकै रहेको राणाकालीन ‘मुडा बजार’भने दिनदिनै ओझेलिँदै छ।  

राणाकालीन बजारका रूपमा रहेको मुडा बजारमा ६० को दशकअघिसम्म खुबै चहलपहल थियो। व्यापार व्यवसाय फस्टकाएकै थियो। तर हिजोआज भने सुनसान र नियास्रोलाग्दो बन्दै गएको छ मुडा बजार। शान्तिसुरक्षा र विकास निर्माणमा पछाडि पर्दै गएपछि राणाकालीन मुडा बजार वर्षौंपछि धकेलिँदै गएको अनुभव स्थानीय व्यापारीको छ।  

मुडामै २०२५ सालदेखि बुबा केशरसिंह बमले सञ्चालन गर्दै आएको पसललाई २०४६ सालदेखि आफूले निरन्तरता दिँदै आएको बताउँदै स्थानीय व्यवसायी मीनबहादुर बमले भने, ‘त्यो बेला मुडा बजार भनेकै यस क्षेत्रकै ठूलो बजार थियो, दैनिक सयौं ग्राहक आउँथे, उस्तै भिडभाड हुन्थ्यो। तर अहिले भने सुनसान बनेको छ।’मुडा बजारमा दैनिक उपभोग्य सामानका रूपमा नुन, तेल, खुर्सानी, चिनी, गुड, लत्ताकपडा, मट्टीतेल तथा भाँडाकुँडा किन्नका लागि डोटी, अछाम, बाजुरा, कालिकोट र जुम्लाबाट समेत ग्राहक हप्तौं हिँडेर आइपुग्ने गरेको स्मरण गर्दै उनले भने, ‘बुवाबाट मैले व्यापार सम्हादाताका पनि जुम्ला, कालिकोट, अछाम, बाजुरा तथा डोटीबाट ग्राहक हिँडेर सामान किन्न आउँथे।’पहाडबाट मास, गहत तथा घिउ लिएर आउने ग्राहक नुन, तेल तथा लत्ताकपडासँग साटेर लैजाने गरेको उनले स्मरण सुनाए। ‘त्यो बेला मुडाकै बाटो ‘हटेरु’हरूका लागि चलनचल्तीको बाटो थियो,’उनले भने, ‘पहाडी क्षेत्रका ग्राहक यही रुटको बाटो प्रयोग गर्थे र पो यहाँको चहलपहल बढेको थियो।’  

मुडा बजारको लिखित इतिहास अहिले नभए पनि राणाकालीन समयकै हाटबजारका रूपमा रहेको उनी बताउँछन्। यति पुरानो मुडा बजारको स्तरोन्नतिमा कसैले पनि ध्यान नदिएको उनको गुनासो छ। देश पुनर्संरचनामा गइसकेपछि पनि पुरानो बजारका रूपमा रहेको मुडालाई स्थानीय तहको सदरमुकाम नबनाइनु तथा डोटी, अछाम, बाजुरा, कालिकोट तथा जुम्लाका ‘हटेरु’हिँड्ने परम्परागत बाटोलाई ट्र्याकका रूपमा नखोलिँदा मुडा बजारका अस्थित्व नै धमिलिँदै गएको अर्का व्यापारी लक्ष्मण सापकोटा बताउँछन्। उनले भने, ‘म पनि मेरो बुवाले वर्षौंदेखि मुडा बजारमै सञ्चालन गर्दै आएको पसललाई निरन्तरता दिँदै कुरिरहेको छु।  

पहिले र अहिलेको तुलनामा मुडा बजारको चहलपहल आकाश पातालको फरक भइसक्यो।’अन्य बजार विकसित हुँदै आधुनिकतामा परिणत भइरहेका बेला यस क्षेत्रकै पुरानो राणाकालीन बजारका रूपमा रहेको मुडा बजार भने झन्झन् ओझेलिँदै गएको उनी बताउँछन्। पुरानो बजारका रूपमा रहेको मुडा बजार असुरक्षा र अव्यवस्थाका कारण सुनसान बनेको बताउँदै उनले बताए। ‘राणाकालीन यो बजार स्थापना हुँदा चिसापानीदेखि मुडासम्म कुनै बजारै थिएन,’उनले भने, ‘यो बजार स्थापना हुँदा लम्की, बौनिया सुखड, पहलमानपुर, मसुरियामा बजारै थिएन। अहिले ती बजार फस्टाएका छन् भने यो बजार ओझेलिँदै गएको छ।’  

तत्कालीन समयमा कटासे, मुनुवा, सत्ती तथा राजापुरबाट भाँडाकुँडा, नुन, चिनी र लत्ता कपडा थोकमा किनेर लडिया (काठको चक्का भएको गोरु गाडा) मा सामान ओसार्दै मुडा बजारमा ल्याएको स्मरण गर्दै अर्का व्यापारी मग्ना चौधरीले भने, ‘त्यो बेला मुनुवा, सत्ती, कटासे तथा राजापुरबाट सामान लिएर मुडा बजारमा खुद्रामा बेच्थ्यौं, सामान किन्नेको भिड उस्तै हुन्थ्यो। तर, अहिले भने सुनसानै बनेको छ।’पहाडी जिल्लामा सडक बनेपछि ‘उता’का ग्राहक रोकिएकाले पनि मुडा बजारमा चहलपहल घटेको बताउँदै उनले भने, ‘त्यति मात्रै नभई मुडा बजारमा स्थायी प्रहरी पोस्ट नहुँदा सर्वेक्षण गरेका बैंकहरू पनि शान्तिसुरक्षाको अवस्था देखाउँदै बौनियामा सर्नुले पनि यहाँको चहलपहलमा ठेस लागेको हो।’मुडा बजारमा शुद्ध खानेपानी नहुनु, स्थायी रूपमा प्रहरी पोस्ट नराखिनु तथा पुरानो हटारु सडकका रूपमा रहेको मुडा–बहुरिया–चायाँभावर–तल्ला पानी हुँदै सेती लोकमार्गको सडक विस्तार नहुनुले मुडा बजारका विकास पछाडि धकेलिएको उनको गुनासो छ।‘शुद्ध खानेपानी, स्थायी प्रहरी पोस्ट तथा पहाडी सडक खुल्ने हो भने मुडाको दिन फेरिनेछ,’उनले भने, ‘त्यसका लागि स्थानीय तहसँगै प्रदेश सरकारले पनि विशेष योजना ल्याउनु जरुरी छ।’

प्रकाशित: २४ चैत्र २०७९ ०१:४१ शुक्रबार