समाज

अनधिकृत रूपमा अर्थ मन्त्रालय प्रवेश गरेको आरोप लागेका कर्मचारी विरुद्ध भ्रष्ट्राचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका तत्कालीन नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

आयोगले आइतबार मुद्दा दायर गरेका घिमिरे गत जेठमा अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अनधिकृत रूपमा छिरेको आरोपित व्यक्ती हुन।

आयोगद्वारा आइतबार जारी विज्ञप्तअनुसार आयोगले घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 

अख्तियारले जनाएअनुसार भन्सार विभागका पूर्व कर्मचारी घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेका छन्। यसमध्ये वैध आम्दानी ५ करोड २५ लाख रुपैयाँ मात्र हो। 

अख्तियारका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैर कानुनी आर्जन गरेको पाइएको बताइएको छ।

व्यवसायीको मिलेमतोमा बजेट निर्माणमा घिमिरे (अनधिकृत व्यक्ति)लाई सहभागी गराइएको चौतर्फी आरोप लागेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु परेको थियो। घटना छानबिनका लागि संसदीय छानबिन समिति समेत गठन गरिएको थियो । 

तर समितिले अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरेको पुष्टि गर्न नसकेपछि शर्मालाई पुनः अर्थमन्त्रीमा फकाइएको थियो। 

घिमिरेमाथि विमानस्थल भन्सार, राजस्व अनुसन्धान विभागलगायतका कार्यालयमा बसेर राजस्व छल्ने र गैर कानुनी काम गरी सम्पत्ति कमाएको आरोप लगाइएको छ। उनले गैर कानुनी आर्जन गरेको सम्पत्ति श्रीमती शारदा गौतमको नाममा राखेको उल्लेख गर्दै अख्तियारले उनी विरुद्ध पनि मुद्दा दायर गरेको छ। घिमिरे २०५२ कात्तिकदेखि पुस २०७९ सम्म सरकारी सेवामा थिए। 

प्रकाशित: १९ चैत्र २०७९ ११:५३ आइतबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्सार विभागका तत्कालीन नायव सुब्बा रघुनाथ घिमिरे