समाज

बर्को बुनेर लगाउने रहरमा उद्यमी बनेकी प्यारी लिम्बु

झण्डै २५ वर्ष अघि घरबाट भागेर दमक जाँदा देखेको राता हरिया र निला धागाले जिन्दगीलाई यस्तो रङ्गिन बनाउलान भनेर प्यारी लिम्बुले सोचेकी पनि थिइनन्।

कुरो २०६२ सालको हो। विद्यालय तहको पढाई सकेर झापा बुद्धशान्ति ४९साबिक शान्तिनगर १०कि प्यारी लिम्बु तान बुनेको हेर्न भनि साथीसँग दमक गइन र ४ महिना उतै बिताइन्। खासमा प्यारीलाई एउटा बर्को आफैंले बुनेर लगाउने रहर थियो।

४ महिनामा प्यारी र उनकी साथीले राम्रोसँग तान बुन्न सिकिसकेका थिए। अब उनले रहरको एउटा बर्को मात्रै होइन साडी,सल र लुङ्गी बुन्न पनि सिकिसकेकी थिइन्।

फर्केर घर आएर उनले आफ्ना परिवार र छर(छिमेकीलाई पनि ढाकाका कपडा बुन्न सिकाइन। आफूसँग पैसा नभएकाले प्यारी र उनकी दिदिले ५ हजार लगानी गरे। प्रत्येक कपडा बनाउँदा आएको नाफालाई उनीहरुले लगानीकै रुपमा प्रयोग गरे।

झन्डै २ वर्षमा हापिन चोक वरपर धेरैका घरमा तान भित्रीसकेका थिए। उनले तान बुन्न सिकाएर कसैसँग पैसा पनि नलिएको बताइन्।

घरमा सबैजना तान चलाउन जान्ने भएपछि प्यारीलाई भने आफ्नो अपुरो पढाई पुरा गर्न मन लाग्यो। जागीर खान पाए अर्कै आनन्द आउँथ्यो कि भनेर उनि काम छोडेर काठमाडौं तर्फ लागीन्।

काठमाडौंमा नै विवाह भयो। सानो नानी लिएर २०७० सालमा उनी माइती गाउँ फर्केर आइन्। खासमा उनी काखे नानी हुर्काउन मात्रै आएकी थिइन् तर संयोगले गाउँ फर्किनु र गाउँमा लघु उद्धम विकास कार्यक्रम आउनु एकैपटक परेछ।

उनको जिवनको टर्निङ पोइन्ट त्यहि बन्यो। धागाबाट टाढा गएका प्यारीका हातहरु फेरी तानमा रमाउन थाले। तान बुनाइको दोश्रो इनिङमा उनले पहिलोपटक ५ वटा साडी तयार पारिन त्यसबाट उनलाई २५ हजार रुपैयाँ नाफा भयो।

त्यसयता प्यारीले कहिलै पछाडी फर्केर हेर्न नपरेको कथा सुनाउँछिन्। आसपासका महिलाहरू यतिबेला आ(आफ्नै घरमा तान बुन्न ब्यस्त छन्। उनले पि एण्ड एस नामको घरेलु उधोग पनि दर्ता गरेकी छिन्।

उनलाई आजभोलि अमेरीका, अस्ट्रेलिया, स्विजरल्याण्डबाट पनि तानमा बुनेका कपडाको माग आउँछ। गाउँभरी आँफुसँगै काम सिकेकाहरुबाट उनी अर्डर पुरा गर्छिन।

नाम जस्तै सबैकी प्यारी अहिले तान बुन्ने मात्रै नभै तालिम पनि दिन्छिन्,प्रदेश नम्बर  १ का अधिकाश जिल्लामा उनि निशुल्क काम सिकाइरहेकी छिन्। जिल्ला र पालिका स्तरबाट उनले उद्धमी महिलाको सम्मान समेत पाएकी छिन्।

उनको सफलताका पछाडी उनका श्रीमानको पनि उत्तिकै साथ र सहयोग छ। उनका श्रीमान सुवासचन्द्र राई पनि सँगै बसेर तान बुन्छन, बाहिरफेर तालिम र कार्यक्रमसम्म पुर्याउन पनि सहयोग गर्छन्।

श्रीमानको साथ भएकैले आफूलाई सहज भएको प्यारी सुनाउँछिन। 'मलाई तालिममा जान अनि सामान ल्याउन उहाँले नै सघाउनु हुन्छ, तानमा पनि उहाँ पर्फेक्ट हुनुहुन्छ अलि बृहत रूपमा कारखाना चलाउने उहाँको रहर छ,' उनले भनिन्।

श्रीमान-श्रीमती दुबैजना तान बुनेर यतिबेला घर खर्च चलाएर वार्षिक ५ लाख भन्दा बढि कमाइरहेका छन्। तर उनीहरु दुबैलाई कतैबाट अनुदान वा सहुलियत ऋण मिले आफ्नो उधोगलाई बिस्तार गर्ने योजनामा छन्।

घरेलु उधोगबाट राम्रो कमाई हुनसक्ने सम्भावना हुँदा-हुँदै पनि राज्यले प्रोत्साहन नगर्दा सोचे जस्तो आम्दानी हुन नसकेको गुनाँसो उनीहरुको छ। तानमा बुनिएका कपडाको स्वदेशी र विदेशी बजारमा ठुलो माग हुँदाहुँदै तुलनात्मक रूपमा नेपाली बजारले उत्पादन गर्न सकिरहेको छैन।

तर गाउँ-घर र पर-पर सम्म पुगेर धेरै दिदिबहिनीहरुलाई उद्यमी र स्वावलम्बी बनाउन सकेकोमा प्यारी लिम्बु खुशी छिन्। उनको आफ्नै हातले बुनेर बर्को ओड्ने रहरले आज धेरै महिलाको शरीर ढाकेको छ।

प्रकाशित: २५ फाल्गुन २०७९ ०८:१४ बिहीबार

प्यारी लिम्बु