समाज

ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम शुरु

पहिरो नियन्त्रणको काम चलीरहेको क्षेत्रमा अनुगमन निरीक्षणमा पुगेका नगरप्रमुख खेलराज पाण्डे,उपप्रमुख सावित्रादेवि अर्याल लगायत।

बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा पहिरो नियन्त्रणको काम शुरु भएको छ । गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पूर्‍याएको वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा ४ को लक्ष्मीनगरमा पहिरो  प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु भएको हो।  

पहिरो प्रभावित क्षेत्रको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का वडा अध्यक्ष विष्णु ढकाल सहित स्थानीयबासिको टोलीले अवलोकन गरी कामलाइ तीब्रता दिन निर्देशन दिएका छन।  

प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताए । अवको बर्षामा स्थानीयलाई जोखिम हुन नदिनका लागि प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु गरीउको उनले बताए ।

 ‘पहिरोसहित आएको लेदो बग्ने नाली बनाउने, सुरक्षाका लागि पर्खाल लगाउनेजस्ता काम शुरु भइसकेको छ र थप सुरक्षित बनाउँदै दिर्घकालिन समाधान खोज्न  प्रदेश र संघीय सरकारसँग समन्वय पनि गर्नेछौं’ नगरप्रमुख पाण्डेले बताए। 

बर्षा याममा चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको वहावलाई बस्ती भन्दा बाहिरै पर्ने गरी फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी निर्माण भइरहेको बताए। यो क्षेत्रका बासिन्दाले सुरक्षित रुपमा बस्न पाउने अधिकार सुरक्षित गर्न हामीले सक्दो प्रयास गरेका छौं, तर पहिरोको जोखिम ठूलो हुनसक्ने भएकाले प्रदेश, संघ सँगसँगै मिलेर पहिरो नियन्त्रण गर्न सक्छौं’ नगरप्रमुख पाण्डेले भने । अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको डुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याले बताइन।  

पहिरो नियन्त्रणका लागि चालु अािर्थक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदान अन्तरगत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको शहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले जानकारी दिए । यसवर्ष समयमै सावधानी अपनाइएको र नियन्त्रणका लागि कामहरु भएकाले पहिरोको  जोखिम कम हुने अपेक्षा गरिएको ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा पुलामीले बताए । ‘यसपाली मेयर,उपमेयरले पहिरो नियन्त्रणका लागि एकदमै चासो दिनुभएको छ, जोखिम कम गर्ने र बस्तीलाई सुरक्षित बनाउन सबै प्रयास गर्छौ  भन्नुभएको छ,,उहाँहरुको साथ पाउँदा हामीले पनि सुरक्षित महसुस गरेका छौं’ स्थानीयबासी समेत रहेका थापाले भने ।  

अर्का पहिरो पिडीत स्थानीय खगेश्वर न्यौपानेले पनि ज्योतिनगरमा पहिरोको जोखिम न्यूनीकरण गर्नका लागि यसपटक बुटवल उपमहानगरपालिकाले थालेको प्रयासले बस्ती सुरक्षित हुनेछ भन्ने विश्वास  पलाएको बताए । 

विगतको जस्तो क्षति अव नहोस भन्नकालागि सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिए ।  ज्योतीनगर र लक्ष्मिनगर क्षेत्रमा गतवर्षको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।  अहिले नगरपालिकाले विशेष प्राथमिकताका साथ बस्ती सुरक्षाकालागि काम सुरु गरेको छ। 

प्रकाशित: १५ फाल्गुन २०७९ १३:१६ सोमबार