समाज

अपाङ्गता भएकालाई लेखा तालिम

नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ। उनीहरूलाई आत्मनिर्भर बनाउन टेवा पुर्‍याउने उद्देश्यले सो तालिम प्रदान  गरिएको हो।

शाखा सभापति प्राडा कृष्णप्रसाद गौतमले अपाङ्गता स्वालम्बन समूहको बचत परिचालन गर्ने, हिसाब राम्रोसँग राख्न सिकाउने, आयआर्जनको रकमलाई सही तरीकाबाट व्यवस्थापन गराउने उद्देश्यले तालिम प्रदान गरिएको बताए।

उक्त शाखाका मन्त्री सूर्यचन्द्र हड्खलेले तालिममा ऋषिङ गाउँपालिकाका आठ वटै वडामा रहेका अपाङ्गता स्वालम्बन समूहका अध्यक्ष, कोषाध्यक्ष, रेडक्रस उपशाखाका स्वयंसेवक, अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिसहित २५ जनाको सहभागिता रहेको बताए।

व्यास नगरपालिकाका प्रमुख बैकुष्ठ न्यौपानेले ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने भावानाअनुरूप नै काम गरिहेको उल्लेख गर्दै यस्ता तालिमले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रशिक्षार्थीहरूलाई जगतबन्धु वाग्लेले प्रशिक्षण दिएका थिए। रासस

प्रकाशित: १५ फाल्गुन २०७९ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App