नेपाल–भारत सीमा क्षेत्र नजिक विराटनगर–१५ स्थित रानी बसपार्कबाट गाँजासहित २ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
बिहीबार राति ८ बजेतिर रानी बसपार्क हुँदै भारत जान लागेका २ जना भारतीय नागरिकको साथमा रहेको ३ केजी लागुऔषध गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विहार अररियाको महेश्वरीका २३ वर्षीय सुनीलकुमार साह र अररिया विसनपुरका ३९ वर्षीय प्रमोद यादव पक्राउ परेका हुन्।
पक्राउ परेका साह बसपार्क हुँदै जोगबनीतर्फ पदैल जाँदै गर्दा शंका लागि उसले बोकेको झोला चेक गर्दा गाँजा भेटिएको हो। गाँजासहित पक्राउ परेको उसलाई सोधखोज गर्ने क्रममा प्रमोद यादवले भारत लैजानका लागि दिएको बताएको एसपी थापाले जानकारी दिए।
साहलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा अर्का भारतीय नागरिकको नाम बताएपछि खोजी कार्य गरेको बताउँदै, एसपी थापाले भने, ‘खोजी गर्दै जाँदै बसपार्क एरियाबाटै बिआर ३८ सी २६०६ नम्बरको मोटरसाइकलसहित प्रमोद यादव पनि पक्राउ पर। पक्राउ परेका उनीहरुको साथबाट भारतीय आधार कार्ड र नेपाली १ हजार २ सय १० रूपैयाँसमेत बरामद भएको छ।’
बरामद भएको गाँजा तथा नियन्त्रणमा लिएको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: ५ फाल्गुन २०७९ ०५:५८ शुक्रबार