समाज

पुनः सुरु भयो काठमाडौं–ताप्लेजुङ उडान

ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरको ट्विनअटर जहाजले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान पुनः सुरु गरेको छ।

विगत केही समय देखि रोकिएको उडान सोमवारबाट सुरु भएको नागरिक उड्डयन प्राधिकरणको सुकेटार विमानस्थल स्टेशन प्रमुख अंगद यादवले जानकारी दिए।

यसअघि माघ ४ गतेबाट यो उडान सुरु हुने भनिए पनि बादल र कुहिरो सहितको मौसमका कारण उडान सुरु हुन सकेको थिएन। सीता एअरको ताप्लेजुङस्थित टिकट बुकिङ काउन्टर प्रमुख श्रीप्रसाद खड्काका अनुसार अब प्रत्येक साता सोमवार, बुधवार र शुक्रवार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्ने भएको छ।

उनका अनुसार भाडा दर साबिक भन्दा घटाएर समायोजन गरिएको छ। खड्काका अनुसार एयरपोर्ट ट्याक्स सहित ताप्लेजुङबाट काठमाडौँको भाडा दर जनही ९ हजार १ सय र काठमाडौं–ताप्लेजुङको ९ हजार ३ सय रुपैयाँ तोकिएको छ।

काठमाडौं–ताप्लेजुङ यात्राका क्रममा एयरपोर्ट ट्याक्स केही महँगो पर्न गएकोले भाडा दर पनि ताप्लेजुङ–काठमाडौं भन्दा काठमाडौं–ताप्लेजुङको जनही २ सय रुपैयाँ महँगो पर्न गएको पाइएको छ।

विदेशी नागरिकका लागि सीता एअरले काठमाडौं–ताप्लेजुङको भाडा दर २ सय १२ अमेरिकी डलर निर्धारण गरेको जनाएको छ। यसैबिच सीताले प्रत्येक साताको बुधवार ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ समेत उडान गर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणको सुकेटार विमानस्थल स्टेशन प्रमुख यादवका अनुसार यहीँ बुधवारबाट ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने गरी तालिका तयार भएको छ। काठमाडौँबाट सुकेटार आउने सीता एअरको जहाजबाट सुकेटारबाट भद्रपुर सम्म यात्रु लिएर जाने र त्यहाँका यात्रु लिएर फेरी सुकेटार एयरपोर्ट आउने छ। त्यसपछि मात्र ताप्लेजुङ–काठमाडौँको उडान भर्ने तालिका बनाएको छ।

सुकेटारबाट भद्रपुर सम्मको हवाई भाडा एयरपोर्ट ट्याक्स सहित जनही ५ हजार ३ सय ८५ रुपैयाँ निर्धारण गरिएको सीता एअरको ताप्लेजुङस्थित टिकट बुकिङ काउन्टरले जनाएको छ। नेपाल एयरलाइन्सले सातामा ४ दिन काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्दै आएको छ।

नेपाल वायु सेवा निगमको ताप्लेजुङस्थित स्टेशन इञ्चार्ज लोकेन्द्र हाङगाम लिम्बूले अब सातामा एक दिन सुकेटार–बिराटनगर–सुकेटार उडान भर्ने गरी तालिका बनेको जानकारी दिए पनि अहिले सम्म तालिका भने सार्वजनिक भएको छैन।

प्रकाशित: ९ माघ २०७९ १०:३७ सोमबार