अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापाका दमक नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको सिमानामा पर्ने मावा खोलामा जथाभाबी गिटीबालुवा निकालेको भन्दै एक कम्पनी सञ्चालक र पालिका कर्मचारीविरुद्ध ३ करोड बढीको बिगो मागसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। त्यस खोलामा नदी उत्खननका लागि किसन एन्ड दृष्टि बिल्डर्स प्रालिले ठेक्का लिएको थियो। तर कम्पनीले जथाभाबी नदी दोहन गरेको र स्थानीय पालिकाले वास्ता नगरेको भन्दै नगरपालिकाका कर्मचारी र मनपरी गिट्टी, बालुवा, ढुंगा निकाल्ने कम्पनी सञ्चालकलाई समेत भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
कम्पनीले मापदण्डविपरीत उत्खनन गर्दा पनि दमक नगरपालिकाले बेवास्ता गरेपछि अख्तियारमा उजुरी परेको थियो। अख्तियारले नदी दोहन गर्दा पनि नियन्त्रण नगरेको भन्दै दमक नगरपालिकाका, वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मिक्लाजुङ गाउँपालिका मोरङका असिस्टेन्ट सब–इन्जिनियर विवेक कार्कीविरुद्ध मुद्दा दर्ता गरेको छ। ‘अनुमतिप्राप्त भन्दा बढी उत्खनन गर्ने कार्यलाई समयमै नियन्त्रण नगरेको’ अख्तियारको दाबी छ।
कानुनविपरीत कसुर गरेको देखिन आएको भन्दै अख्तियारले चौधरी र कार्कीविरुद्ध ३ करोड ४४ लाख ११ हजार २८८ रूपैयाँ बिगो कायम गरी बिगो अनुसार जरिवानासमेत मागदाबी गर्दै विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। त्यसैगरी ठेकेदार किसन एन्ड दृष्टि विल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र उनका प्रतिनिधि निशम कार्कीले सम्झौताविपरीत बढी नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै ३ करोड ४४ लाख ११ हजार २८८ सय रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। साथै सजाय गरी बिगो रकम जफत गर्नसमेत मागदाबी लिइएको अख्तियारले जनाएको छ।
प्रकाशित: १५ पुस २०७९ ०३:५४ शुक्रबार