कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबण्डामा कर्मचारी राख्ने गरेको रहस्य खुलेको छ।
स्थानीय सरकारले करारमा कर्मचारी नियुक्ति गर्दा स्थाई कर्मचारीले समेत भाग माग्ने गरेको रहस्य खुलेको हो। कर्मचारीकै कोटामा प्रशासन अधिकृतको श्रीमतीले पनि जागिर पाएपछि सबै कुरा सार्वजनिक भएको छ।
अझै भन्दा अघिल्लो सरकारले पाँच वर्ष अगाडी नियुक्त गरेका कर्मचारीलाई सेवाबाट वर्तमान सरकारले हटाएपछि स्थाई कर्मचारीले समेत आफन्त भर्ती गरेको कुरा पनि सार्वजनिक गरेका थिए। कर्मचारीको कोटामा भर्ती भएका करार कर्मचारीले तीन महिनाको एक दिन कार्यालयमा आएर हाजिर लगाएर तलब लिने गरेको पनि खुलेको छ।
कर्मचारीले काम नगरेता पनि उनीहरूको आफन्तका खातामा तलब भत्ता भने भुक्तानी हुने गरेको छ।
‘मलाई पनि खासै थाह त छैन तर कसैले श्रीमती, कसैले छोरी र बुहारीलाई नियुक्ति दिएर तलब खुवाएका छन्। एक कर्मचारीले भने।
खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखमा कार्यरत अबिराज शाहीले आफ्नो श्रीमतीलाई आफै नियुक्ति दिएर जागिर खुवाएका छन्। उनले २०७८ साल फागुन १ गते वाट तलब पाउने गरी सामाजिक परिचालक तह पाँचौँमा आफ्नी श्रीमती प्रगति ठकुरीलाई नियुक्ति दिएर आफै हाजिर लगाउने र तलब भत्ता श्रीमतीको खातामा जाने सम्मको सेटिङ मिलाएको भेटिएको छ।
आफ्नो अधिकारको दुरुपयोग गरी जनप्रतिनिधिलाई प्रभावमा पारेर आफ्नै श्रीमतीलाई आफै नियुक्ति गरी आफै हाजिर लगाएर नगरपालिकाबाट तलब भत्ता लिएर अख्तियारको दुरुपयोग गरेको पाइएको हो।
खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुखको जिम्मेवारीमा रहेका अबिराज शाहीले आफू निमित्त प्रमुख प्रशासकीय अधिकृत भएका बेला आफ्नो श्रीमती प्रगति ठकुरीलाई नगरपालिकाको सामाजिक परिचालक पाँचौ तहमा नियुक्ति गरेको आफैले स्वीकार गरे। उनले नगरपालिकाले नियुक्ति गरेका एक सय तीन (१०३) जना कर्मचारी मध्य ४१ जनाले मात्र काम गरेर तलब खाने गरेकाले मेरो पनि भाग चाहियो भन्दै आफ्नो श्रीमतीलाई नियुक्त गरेको सुनाए।
अबिराज शाही भन्छन् 'जसले जे भने पनि मेरी श्रीमती सामाजिक परिचालक भएको र प्राय गाउँमा जाने भएकाले कसैले देखेनन्।' उनले हाजिर भने उनकी श्रीमती आफै लगाउने गरेको र काममा पनि खटिने गरेको दाबी गरे।
उनले अख्तियारमा उजुरी परेको सुनेकाले ल्याबमा हाजिर परीक्षण गरी घटना पुस्टी गर्न चुनौती दिएका छन्। 'मैले भागवण्डामा श्रीमती दक्ष पनि भएकाले नियुक्ति गरेको हो। तर काम नगरी आफै हाजिर लगाएर श्रीमतीलाई जागिर खुवाएको भने होइन।' उनले भने।
नगरपालिकाका एक कर्मचारीले नगरका प्रमुख प्रशासकीय अधिकृत जसिप्रसाद चौलागाई माघ १२ गते बिदामा बसेको मौका छोपी १३ गते प्रशासन शाखा प्रमुख अबिराज शाहीले निमित्त भएको मौकामा कर्मचारी आवस्यक्ताको सूचना प्रकाशन गरी १४ गते आफैले करार सम्झौता गरेर कागजी प्रक्रिया पुरा गरेको जानकारी दिए।
उनले आफूलाई सुरक्षित राखिदिन समेत आग्रह गर्दै भने 'यो कुरा अबिराजले अस्वीकार गदै फागुन १ गते वाट नियुक्ति भएको र तलब भत्ता पनि उसै दिन देखि गणना भएको हो।' उनले आफ्नो श्रीमतीलाई सात महिना मात्र जागिरमा राखेको तर अरूले वर्षै सम्म तलब भत्ता खुवाएको जिकिर गरे।
जिल्ला प्रशासन श्रोतले भने प्रगति ठकुरीका बारेमा अनुसन्धान भइरहेकाले केही बोल्न नमिल्ने बताएको छ। अबिराज शाहीले भने नगरप्रमुखको तोक आदेशमा आफ्नो श्रीमती प्रगति ठकुरीको नियुक्त गरिएको दाबी गदै कुनै पनि गैर कानुनी नभएको दाबी गरेका छन्।
लेखा शाखा प्रमुख धिरवहादुर शाहीले भने आफूलाई नियुक्ति पत्र आएकाले ८ महिना अर्थात २०७८ साल फागुन देखि २०७९ साल असोज सम्म तलब निकासा दिएको, कार्तिकमा सूचना पाएपछि तलब भुक्तानी नदिएको बताए।
प्रगति ठकुरीको बिषयमा कसैले पुसबाट हाजिर भएको, माघमा नियुक्ति भएको र फागुनबाट हाजिर भएको भन्ने छुट्टा छुट्टै दाबी गरेका छन्। यो घटना अनुसन्धानमा भएकाले सबै भन्न नमिल्ने नगरपालिकाले बताएको छ।
प्रकाशित: ६ पुस २०७९ १३:०५ बुधबार