समाज

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या, एक किशोरी घाइते

बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको हो। सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत अवस्थामा फेला परेकी हुन् भने नेहा घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

माया र नेहाको खोजी गर्दै जाँदा शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै मायाको शव फेला परेको हो भने बालाडाँगा भन्ने स्थानमा नेहा घाइते अवस्थामा फेला परेकी हुन्। मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। नेहाको पनि घाँटीमा रेटिएको र उनलाई उपचारका लागि धनगढी लगिएको छ। घटना अनुसन्धानको लागि प्रहरी टोली घटनास्थल गएको छ।

प्रकाशित: १४ मंसिर २०७९ १५:४१ बुधबार