समाज

साढे ३ किमि सडक बनाउन १० वर्ष!

दुई ठेक्का र सात पटक म्याद थप्दा पनि प्रगति ६२ प्रतिशत मात्रै

बुटवलको मुख्य बजार क्षेत्र हुँदै जाने सिद्धार्थ राजमार्गअन्तर्गत राजमार्ग चौराहदेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तार सुरु भएको एक दशक बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन। दुईपटक ठेक्का सम्झौता, सातपटक म्याद थप र लागत वृद्धि हुँदासमेत आयोजनाको भौतिक प्रगति करिब ६२ प्रतिशत मात्रै पुगेको छ।

यो सडक २०७३ चैतमा कञ्चनजंघा–बिरुवा जेभीसँग २०७६ भित्र सम्पन्न गर्ने लक्ष्यसहित ५३ करोड ९७ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। प्रारम्भिक लागत अनुमान करिब ५६ करोड रुपैयाँ रहेकामा अहिले लागत बढेर ६२ करोड रुपैयाँ पुगेको छ।

तर सडक क्षेत्रभित्रका संरचना हटाउने विषयमा भएको विवाद, केही व्यापारीको अवरोध तथा निर्माण कम्पनीको सुस्त कार्यसम्पादनका कारण आयोजना वर्षौंसम्म अलपत्र पर्‍यो। अदालतले सडक विस्तारको पक्षमा फैसला गरेपछि पनि निर्माणले गति लिन नसकेपछि २०८१ वैशाखमा पहिलो ठेक्का रद्द गरिएको थियो।

त्यसपछि २०८१ असोज १८ गते बबुल दर्शन–मालिका जेभीसँग ३४ करोड ८६ लाख रुपैयाँमा नयाँ ठेक्का सम्झौता भयो। २०८२ असोजभित्र काम सक्ने लक्ष्य राखिएको उक्त कम्पनीका सञ्चालक रुपन्देही–५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तौफिक अहमद खान हुन्।

तर दोस्रो ठेक्कामा पनि निर्माण कार्य समयमै पूरा हुन नसकेपछि पटक–पटक म्याद थप गरिएको छ। पहिलो पटक २०८२ चैतसम्म, त्यसपछि २०८३ असार मसान्तसम्म र अहिले तेस्रोपटक २०८३ असोज २० गतेसम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ।

सडक डिभिजन कार्यालयकी सूचना अधिकारी इन्जिनियर प्रज्ञा शर्माका अनुसार हालसम्म निर्माण कम्पनीलाई १८ करोड ७७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। निर्माण कम्पनीले थपिएको अवधिभित्र जसरी पनि काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भन्दै अन्तिमपटक करिब दुई महिना २० दिनको समय थप गरिएको उनले बताइन्।

कार्यालयका अनुसार मुख्य सडकको दुवैतर्फ गरी ६ किलोमिटरमध्ये करिब ४ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ। सर्भिस लेनतर्फ ४.४ किलोमिटर कालोपत्रे भएको छ भने फुटपाथमा करिब ३ किलोमिटर कालोपत्रे गरिएको छ। २४० वटा स्ट्रिट लाइटमध्ये १८८ वटाको फाउन्डेसन तयार भएको छ भने करिब डेढ किलोमिटर रेलिङ जडान गरिएको छ।

यद्यपि, अबको करिब ६५ दिनभित्र मुख्य सडकको बाँकी करिब २ किलोमिटर, सर्भिस लेन, फुटपाथ, रेलिङ, स्ट्रिट लाइट तथा अन्य फिनिसिङका सबै काम सम्पन्न गर्नुपर्ने अवस्था छ। तर हालको निर्माण गति हेर्दा तोकिएको समयमै काम सकिनेमा स्थानीयवासीले शंका व्यक्त गरेका छन्।

सूचना अधिकारी शर्मा भने वर्षायाम, बिटुमिनको अभावलगायत कारण केही ढिलाइ भए पनि निर्माण कम्पनीले रातदिन काम गरेर असोजभित्र आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएको बताउँछिन्।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलदेखि बेलहिया नाकासम्मको २७.५ किलोमिटर सडक आर्थिक वर्ष २०६८/६९ देखि व्यापारिक मार्ग परियोजनाअन्तर्गत ६ लेनमा विस्तार गर्न थालिएको हो। अधिकांश खण्ड सम्पन्न भए पनि बुटवल–गोलपार्कको साढे ३ किलोमिटर र बेलहिया नजिकको करिब ६ सय मिटर सडक अझै निर्माणाधीन छन्।

 

प्रकाशित: १४ श्रावण २०८३ १९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App