पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार सातै प्रदेश र काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका हुन्। दुर्घटनामा सबैभन्दा बढी कोशी प्रदेशमा ४२ जना र मधेश प्रदेशमा ३८ जना घाइते भएका छन्।
प्रहरीको तथ्यांकअनुसार बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। त्यस्तै, लुम्बिनी प्रदेशमा तीन जनाको मृत्यु र ३२ जना घाइते भएका छन्।
गण्डकी प्रदेशमा पाँच जना, कर्णाली प्रदेशमा तीन जना र सुदूरपश्चिम प्रदेशमा आठ जना घाइते भएका छन्। दुर्घटनामा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ स्थित एचआईडी गेटमा मोटरसाइकल र कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौँडा–१३ वनस्पति निवासी २४ वर्षीय सुकराम लोप्चन भएको प्रहरीले जनाएको छ। त्यसैगरी मधेश प्रदेशका विभिन्न जिल्लामा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
उदयपुरको त्रियुगा नगरपालिका–११ संगमटोलस्थित भित्री सडकमा प्र३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदलयात्री ५२ वर्षीय नारायणबहादुर कार्की, सप्तरीको राजविराज नगरपालिका–११ झल्ही चोकमा प्र२–०१–००३ प ७८२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक २६ वर्षीय सन्दिपकुमार यादव, सप्तरीकै शम्भुनाथ नगरपालिका–८ मिलन चोकस्थित महेन्द्र राजमार्गमा बा२४ प ४११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई २२ वर्षीय चालक सुवाष चौधरीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा बिहान ११ः४० बजे म प्र–०४–००१ ज ००५७ नम्बरको गाडी र प्र १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किँदा गाडीमा सवार ३७ वर्षीय रञ्जित रामको मृत्यु भएको हो।
रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरस्थित मानपुर सडक खण्डमा बिहान ११ः२० बजे ना ५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको छ।
त्यसैगरी ललितपुर महानगरपालिका–४ मानभवनमा साँझ ६ः४१ बजे बा ७८ प ५३७२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका ५० वर्षीय पैदलयात्री सक्कली तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा बिहान ९ बजे दुईवटा कार आपसमा ठोक्किँदा कारमा सवार ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको थियो । बागमती प्रदेश ०१–०३२ च ३६१८ नम्बरको कार र बा प्र ०१–०३० च ८४९६ नम्बरको कार ठोक्किँदा घाइते भएका शाहीको मृत्यु भएको हो।
बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका–२१ कान्तितालको परिधिभित्र भे ११ प ८०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १५ वर्षीय चालक अब्दुल मनिहारको मृत्यु भएको छ।
त्यस्तै, कोहलपुर नगरपालिका–११ नयाँ बसपार्कमा दिउँसो ३ः४० बजे भे१ ह ९०३१ नम्बरको ई–रिक्सा अनियन्त्रित भई पर्खालमा ठोक्किँदा चालक ३८ वर्षीय हरि राम थारुको मृत्यु भएको छ।
प्रकाशित: ८ कार्तिक २०८३ १५:१६ आइतबार