समाज

कोदो खेती गर्ने किसान सम्मानित

दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा सिन्धुलीमा कोदोजन्य बालीको उत्पादन, संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने १० जना कृषक सम्मानित भएका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा कोदो खेती गर्दै आएका १० जना किसानलाई जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले सम्मान गरेको हो। 

किसानलाई सम्मानपत्र प्रदान गर्दै कार्यालयले कोदो खेतीको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणमा थप प्रोत्साहन गर्ने उद्देश्य रहेको जनाएको छ। 

कार्यक्रममा कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जिल्लामा हाल १० हजार ७४२ हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको जानकारी दिए। उनका अनुसार कोदो पोषणयुक्त, जलवायु परिवर्तनको असर कम पर्ने तथा कम लागतमा उत्पादन गर्न सकिने महत्वपूर्ण खाद्यान्न बाली भएकाले यसको उत्पादन र उपभोग दुवैलाई प्राथमिकता दिन आवश्यक छ। 

उनले कोदोबाट बन्ने विभिन्न परिकार, यसको पोषण मूल्य, स्वास्थ्यमा पुग्ने फाइदा तथा उत्पादनको वर्तमान अवस्थाबारे जानकारी गराउँदै परम्परागत बालीको संरक्षणसँगै आधुनिक कृषि प्रविधिको प्रयोग गरेर उत्पादन बढाउनुपर्नेमा जोड दिए। 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले कोदो खेतीले किसानको आयआर्जन वृद्धि गर्नुका साथै स्थानीय खाद्य सुरक्षामा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए। पछिल्लो समय युवापुस्ताको कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको उल्लेख गर्दै उनले स्थानीय तह, कृषि कार्यालय र सरोकारवाला निकायबीचको सहकार्यबाट किसानलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राखे। 

सम्मानित कृषकहरूको अनुभव र सफलताले अन्य किसानलाई पनि व्यावसायिक रूपमा कोदो खेतीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्दै उनले उत्पादनसँगै प्रशोधन र बजार विस्तारमा ध्यान दिन आग्रह गरे। 

उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले कोदोबाट उत्पादन हुने विभिन्न खाद्य परिकारको व्यावसायिक विकास, ब्रान्डिङ र बजारीकरणमा जोड दिए। विशेषगरी कोदोबाट बन्ने परम्परागत मदिरा तथा अन्य परिकारलाई गुणस्तरीय रूपमा उत्पादन गरी कानुनी र कर प्रणालीभित्र ल्याउन सके बजार विस्तार हुने र किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्ने बताए। स्थानीय उत्पादनलाई आधुनिक बजारसँग जोड्न सके कोदो खेतीलाई थप लाभदायी व्यवसायका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो। 

कार्यक्रममा जनप्रतिनिधि, कृषि क्षेत्रका सरोकारवाला निकाय, कृषक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। सहभागीहरूले कोदो उत्पादन वृद्धि, मूल्य अभिवृद्धि, प्रशोधन उद्योगको विकास, प्रभावकारी बजारीकरण तथा उपभोग प्रवर्द्धनका लागि सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए। 

दिवसको अवसरमा कोदोको महत्वबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौतारामा कोदोबाट बनेका विभिन्न परिकारको प्रदर्शनीसमेत गरिएको थियो। प्रदर्शनीमा कोदोको मिठाई, ढिँडो, रोटी, सेललगायत परिकार राखिएका थिए। स्थानीय उपभोक्ताले ती परिकारको स्वाद लिँदै कोदोको पोषण तथा व्यावसायिक सम्भावनाबारे जानकारी लिएका थिए। 

आयोजकका अनुसार यस्ता कार्यक्रमले परम्परागत बालीको संरक्षण, किसानको उत्साह वृद्धि तथा स्थानीय उत्पादनको बजार विस्तारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। 

प्रकाशित: १६ श्रावण २०८३ १५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App