समाज

झुम्का कारागारमा अहिले दुई सय २० जना कैदीबन्दी मात्रै

<br>

सुनसरीको झुम्का कारागारबाट मंगलबार राति एक हजार ५७५ जना कैदीबन्दी बाहिरिएका छन्।  

जेन जी पुस्ताले थालेको आन्दोलनका क्रममा मंगलबार राति आन्दोलनकारी कारागार पुगेर ब्लक ‘बी’ का कैदीलाई निकाल्नुपर्ने माग राखेपछि उनीहरू निस्किएको जेलर सुभाष लामिछानेले बताए। उनका अनुसार सुरुवातमा ब्लक ‘बी’ बाट १०.३० बजेसम्म ४०० हाराहारी निस्किएको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले गर्दा ब्लक ‘बी’ का अरू कैदीबन्दीसँगै ब्लक ‘ए’ का पनि बाहिरिएका हुन्।  

राति अबेरसम्म कारागारबाट सबै कैदीबन्दी बाहिरिए पनि सेनाले पक्राउ गरेका र केही आफैँ फर्किएका गरी अहिले २२० जना मात्रै कैदीबन्दी रहेका छन्। ब्लक ‘ए’ र ‘बी’ दुवैका चौकीकार पनि कारागारमै रहेका छन्। झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार सात सय ९५ जना कैदी रहेका थिए।

प्रकाशित: २५ भाद्र २०८२ १०:३३ बुधबार