काठमाडौं महानगरपालिकाको कर्मचारी भएको दाबी गर्दै रु १३ लाख २५ हजार असुलेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा दोलखा सैलुंग गाउँपालिका–२ घर भएर हाल काठमाडौं महानगरपालिका–६ बस्ने २८ वर्षीय राजु लामा रहेका छन्।
लामाले काठमाडौं महानगरपालिका–३१ को वडा क्षेत्रमा आफू महानगरपालिकाको सरसफाइ कर्मचारी भएको भन्दै प्रत्येक घरबाट रकम उठाउने गरेकोले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा उनी महानगरपालिकाको कर्मचारी नभएको, तर पटकपटक गरी हालसम्म रु १३ लाख २५ हजार असुलेको र उनको साथबाट नगद रु छ हजार ५००, रसिद, बिलबिजक पाँच थान, कोटेश्वर बेस्ट कन्सर्नको महसुल कार्ड नौ थान, नेपाल फूलबारी सेवा प्रालिको सरसफाइ शुल्क कार्ड दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको जानकारी गराइएको छ।
प्रकाशित: १२ श्रावण २०८२ २०:२६ सोमबार