समाज

एक हजार १३१ शव फेला, करिब ५ हजार सम्पर्कविहीन

१३ हजारभन्दा बढीको उद्धार

रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार १३१ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको जनाएको छ।

आज माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ४ नम्बर अडिट टनेलबाट एक जना चिनियाँ नागरिक तथा नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीबाट ६४ वर्षीया महिलाको जीवितै सकुशल उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार फेला परेका १ हजार १३१ शवमध्ये हालसम्म १८ जनाको मात्र सनाखत गरी परिवारलाई बुझाइएको छ। फेला परेका शवमा विभिन्न स्थानमा भेटिएका मानव अंगसमेत समावेश छन्।

बाढीले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका छन्। नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, चितवनमा १६०, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ वटा शव फेला परेका हुन्।

सम्पर्कविहीन हुनेहरूमा नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार करिब २ हजार ३४० जना, रसुवाबाट १ हजार ९६७ जना, विदेशी नागरिक ५८९ जना तथा सुरक्षाकर्मी र कर्मचारी करिब १०० जना रहेका छन्।

सम्पर्कविहीनको सूचीमा पहिचान नभएका शव तथा उद्धार गरिएका कतिपय व्यक्तिको नामसमेत दोहोरिएको हुनसक्ने भएकाले प्राधिकरणले हाल नामावली रुजु गर्ने कार्य भइरहेको जनाएको छ।

प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०१ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सशस्त्र प्रहरी बलबाट ४ हजार ८७१, नेपाली सेनाबाट ४ हजार १६२ र नेपाल प्रहरीबाट ४ हजार ६८ जना छन्।

नेपाली सेनाले उद्धार गरेका ४ हजार १६२ जनामध्ये हवाई उद्धारमार्फत २७५ विदेशी र ३ हजार ६८७ नेपाली तथा स्थलगत उद्धारमार्फत २०० जनाको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ३०४ जना विदेशी नागरिक छन्।

उद्धारका लागि नेपाली सेनाले हालसम्म १७३ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२१ पटक हवाई उडान गरेका छन्।

बाढीमा परी घाइते भएका ५ हजार १२९ जनाको उपचार गरिएको छ। उपचार गरिएकामध्ये नेपाली सेनाबाट ३ हजार २९७, सशस्त्र प्रहरीबाट १ हजार ५१६ र विभिन्न अस्पतालमा ३१६ जनाको उपचार भएको छ।

रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ४१ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ९८२ जना आश्रित छन्।

फिल्डमा खोज तथा उद्धारका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

सरकारले तत्कालीन राहतका लागि रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा अति प्रभावित १५ वटा पालिकाका लागि गरी कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत निकासा गरेको छ।

काठमाडौंबाट ८३ वटा ट्रक, ३८ वटा बोलेरो तथा हेलिकप्टरका ९ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। यस्तै, सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवामा १७३ हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ।

प्रभावित क्षेत्रमा हाल ५७ हजार लिटर डिजेल, २० हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २० भाद्र २०८३ २१:०६ शनिबार