नेकपा एमालेका युवा नेता समिक बडालले जेनजी आन्दोलनमा कलिला युवाहरूले दिएको बलिदान देश बन्ने, व्यवस्था सुध्रिने र भविष्य सुरक्षित हुने आशामै भएको हुनुपर्ने बताएका छन्।
उनले युवाहरू कुनै ‘ग्रान्ड डिजाइन’को अनजान मोहरा बन्न पुगेको पूर्वज्ञान भएको भए धेरै जीवन जोगिन सक्ने टिप्पणी गर्दै यस घटनाको सत्य समयले खोज्ने बताए।
'कलिला युवाहरूको बलिदान पक्कै पनि देश बन्छ, व्यवस्था सुध्रिन्छ र भविष्य सुरक्षित हुन्छ भन्ने आशामै भएको हुनुपर्छ,' सामाजिक सञ्जालमार्फत उनले भने, 'यदि उनीहरूलाई हामी कुनै ‘ग्रान्ड डिजाइन’को अनजान मोहर बन्दैछौँ भन्ने पूर्वज्ञान भएको भए, सायद धेरै जीवन जोगिन सक्थे। समयले यसको सत्य अवश्य खोज्नेछ।'
बडालले जेनजी आन्दोलन र युवाको असन्तुष्टिलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। नेपालको शिक्षाबाट मौलिकता हटाउँदै विश्वबजारको आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्ने नीति प्राथमिकतामा परेपछि उद्योग, स्वदेशी बजार र रोजगारी कमजोर हुँदै गएको उनको दाबी छ।
युवालाई देश निर्माण गर्ने नागरिकभन्दा विदेशको श्रमबजारका लागि तयार पार्ने सोचले देशभित्र अवसर सिर्जना गर्नुको सट्टा पलायनको बाटो खोलेको उनले बताए। यसको जिम्मेवारीबाट राजनीतिक तथा प्रशासनिक नेतृत्व उम्किन नसक्ने भन्दै बडालले अब आरोप–प्रत्यारोपभन्दा निर्मम आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।
उनले भने, 'दोषबाट न राजनीतिक नेतृत्व उम्किन सक्छ, न प्रशासनिक नेतृत्व। अब आरोप–प्रत्यारोप होइन, निर्मम आत्मसमीक्षा चाहिएको छ।'
बडालका अनुसार युवाको आक्रोशलाई केवल नियन्त्रण गर्ने प्रयास गर्नुको सट्टा त्यसको मूल कारण पहिचान गर्न आवश्यक छ। शिक्षा, रोजगारी, उद्योग, अर्थतन्त्र र राष्ट्रिय स्वाभिमानलाई एकीकृत गर्दै तत्काल सही नीति निर्माण गर्न नसके जेनजी पुस्ताको असन्तुष्टि भविष्यमा अझ भयावह रूपमा विस्फोट हुन सक्ने उनले चेतावनी दिएका छन्।
उनले नेतृत्वसामु अब इतिहासबाट सिक्ने वा इतिहास दोहोर्याउने भन्ने प्रश्न रहेको भन्दै त्यसको निर्णय नेतृत्वकै हातमा रहेको बताएका छन्। 'बलिदानको अर्थ केवल व्यवस्था परिवर्तन होइन, देशभित्रै भविष्य निर्माण गर्न सक्ने वातावरण निर्माण हुनु हो,' उनले भने, 'अब नेतृत्वले इतिहासबाट सिक्ने कि इतिहास दोहोर्याउने? निर्णय उसकै हातमा छ।'
प्रकाशित: २३ भाद्र २०८३ ०८:३१ मंगलबार