पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दशैं–तिहारको मुखमा चीनतर्फका सबै नाका बन्द हुँदा नेपाल–चीन व्यापारमा ठूलो समस्या र नोक्सानी हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले विकल्पका रूपमा मुस्ताङतर्फको कोरोला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने प्रस्ताव स्वागतयोग्य रहेको पनि बताए।
'दशैं-तिहारको मुखमा चीनतर्फका सबै नाका बन्द हुँदा नेपाल-चीन व्यापारमा ठूलो समस्या र नोक्सानी हुने स्वतःसिद्ध छ। विकल्पमा मुस्तांगतर्फको कोरोला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने प्रस्ताव स्वागतयोग्य छ,' उनले भनेका छन्।
उनले यसले भविष्यमा नेपाली अर्थतन्त्रलाई भारत र चीनका मूल्य–शृंखलासँग जोडेर ‘गतिशील सेतु’ बनाउने आधार तयार गर्न सक्ने जिकिर गरे।
भट्टराईले तीनवटै देशका नेतृत्वबीच राम्रो रणनीतिक समझदारी बनाउन युवा नेतृत्वले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
'भविष्यमा नेपाली अर्थतन्त्रलाई दुई ठूला छिमेकी भारत र चीनको मूल्य-शृंखलासंग जोडेर 'गतिशील सेतु' बनाउन राम्रो आधार तयार गर्नसक्छ। तीनवटै देशका नेतृत्ववीच राम्रो रणनीतिक समझदारी बनाउन हाम्रो युवा नेतृत्वले बेलैमा ध्यान देओस्!' उनले भने।
प्रकाशित: १७ आश्विन २०८३ १०:२० शनिबार