नेकपा (एमाले) का नेता योगेश भट्टराईले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरको आचरणमाथि प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता भट्टराईले उपसभामुख मगरको विगत र वर्तमानका गतिविधिहरूले पदको गरिमामाथि प्रश्न उठेको बताए।
उनले संविधानको धारा ९१ मा सभामुख वा उपसभामुखले पद अनुकूलको आचरण नगरेमा दुई तिहाइ बहुमतले हटाउन सक्ने प्रावधान रहेको स्मरण गराउँदै उपसभामुखमाथि लागेका आरोपहरू सामान्य नभएको जिकिर गरे।
भट्टराईले सबैभन्दा गम्भीर विषयका रूपमा वि.सं. २०७२ सालको एक घटनालाई उल्लेख गरे। उनका अनुसार, २०७२ कार्तिक १७ गते बाल संगठनको सिफल बालगृहबाट पाँच जना बालबालिका हराएका थिए।
यस सम्बन्धमा एक कर्मचारीले केन्द्रीय बाल कल्याण समितिमा दिएको बयानमा प्रिजनर्स असिस्टेन्स नेपाल (पीए नेपाल) नामक संस्थाका मानिसहरूले जबर्जस्ती बालबालिकालाई लगेको उल्लेख गरेको भट्टराईले बताए। उनले तत्कालीन समयमा उक्त संस्थाको कार्यकारी प्रमुख हालकी उपसभामुख मगर रहेको दाबी गरे।
यही विषयमा छानबिन गर्न २०७६ सालमा पाटन उच्च अदालतका पूर्व न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अझैसम्म सार्वजनिक नगरिएकोमा उनले आपत्ति जनाए।
भट्टराईले गाइँगुइँ सुनेको भन्दै उक्त प्रतिवेदनले पीए नेपाललाई बालबालिका ओसारपसार जस्तो संगठित अपराधमा संलग्न रहेको र थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने सिफारिस गरेको दाबी गरे।
उनले प्रधानमन्त्रीलाई सो प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै भने, ‘यो बालबालिकासँग सम्बन्धित संवेदनशील विषय हो।’
प्रकाशित: ५ भाद्र २०८२ १४:५६ बिहीबार