राजनीति

ओलीलाई सम्मानजनक बिदा लिन योगेश भट्टराईको प्रस्ताव, ७ बुँदामा उठाए गम्भीर प्रश्न

नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने प्रस्तावसहित लिखित धारणा पार्टी नेतृत्वसमक्ष राखेका छन्। भट्टराईले मंगलबार केन्द्रीय कमिटी बैठकमा बोल्ने समय नपाएपछि अध्यक्ष ओलीलाई लिखित दस्तावेज बुझाएका थिए।

भट्टराईले पार्टीमा नेतृत्व हस्तान्तरणलाई कुनै व्यक्तिलाई हटाउने वा पद खोस्ने विषयका रूपमा नभई लोकतान्त्रिक संस्कार, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन्। उनले निर्वाचन समीक्षा प्रतिवेदन, पार्टीभित्रका विभिन्न समीक्षा तथा आमकार्यकर्ता र जनताको भावनालाई समेत आत्मसात् गर्दै ओलीले नयाँ नेतृत्वका लागि बाटो खोल्नुपर्ने उल्लेख गरेका छन्।

उनले पार्टीको वर्तमान संकट संसद्मा घटेको संख्यामा मात्र सीमित नभएको बताएका छन्। आन्दोलनप्रतिको प्रतिबद्धता, नेता–कार्यकर्ताबीचको भरोसा र भविष्यप्रतिको सामूहिक आशामै संकट उत्पन्न भएको भन्दै त्यसको कारण नेतृत्वको कार्यशैली र प्रवृत्तिमा खोजिनुपर्ने उनको धारणा छ।

भट्टराईले संकटका वस्तुगत कारण पहिल्याउनुको सट्टा ‘षड्यन्त्रको सिद्धान्त’मार्फत आत्मरक्षा गर्ने र दोष अरूमाथि थोपर्ने प्रवृत्तिको समेत आलोचना गरेका छन्। यथास्थितिलाई निरन्तरता दिनेभन्दा पार्टीले आफ्ना कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने उनको जोड छ।

भट्टराईले पार्टीका पदाधिकारीका लागि अधिकतम दुई कार्यकाल र ७० वर्षको उमेरहदसम्बन्धी प्रावधान पुनःस्थापित गर्नुपर्ने बताएका छन्। यसअघि पार्टी विधानमा रहेका यी प्रावधान हटाउने निर्णयको विरोध गर्दै उनले नेतृत्व चयनमा निश्चित सीमा कायम गर्नुपर्ने धारणा राखेका हुन्। एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको विषयलाई लिएर पछिल्लो समय पनि विवाद देखिएको छ।

पार्टीभित्र अधिकारको अत्यधिक केन्द्रीकरण अन्त्य गर्नुपर्ने माग पनि भट्टराईले गरेका छन्। जनताको बहुदलीय जनवादको लोकतान्त्रिक मान्यताअनुसार शक्ति, अधिकार र निर्णय प्रक्रियामा नियन्त्रण तथा सन्तुलन कायम गर्नुपर्ने उनको प्रस्ताव छ।

भट्टराईले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा तत्कालीन ओली नेतृत्वको सरकारको सुरक्षा व्यवस्थापन र समयमै पहल गर्ने विषयमा कमजोरी भएको दाबी गरेका छन्। त्यसक्रममा युवाहरूले ज्यान गुमाउनुपरेको भन्दै तत्कालीन सरकारको नेतृत्वकर्ताका रूपमा ओलीले जिम्मेवारी लिनुपर्ने, आत्मालोचना गर्नुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको धारणा छ।

यससँगै उनले पार्टीभित्र नातावाद, गुटबन्दी र पहुँचका आधारमा अवसर तथा जिम्मेवारी बाँड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। नेतृत्वसँग निकट भएकै आधारमा अवसर पाउने अवस्थाको अन्त्य गरी योग्यता, क्षमता र परिणामका आधारमा मूल्यांकन हुने प्रणाली विकास गर्नुपर्ने उनको प्रस्ताव छ।

भट्टराईको लिखित धारणामा नेतृत्व हस्तान्तरणसँगै पार्टीको नीति, संगठन र कार्यशैली पुनर्गठनको विषयलाई समेत जोड दिइएको छ। उनले स्थानीय तहको निर्वाचनसम्मका लागि अन्तरिम नेतृत्व निर्माण गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन्।

प्रकाशित: ७ आश्विन २०८३ १७:०९ बुधबार