नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनमा उठाइएका विषयप्रति सकारात्मक टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले सकारात्मक टिप्पणी गरेका हुन्। भट्टराईले प्रधानमन्त्री शाहको सम्बोधनमा युद्ध, अन्तर्राष्ट्रिय द्वन्द्व, घातक हतियारको बिक्री तथा व्यापारिक होडबाजीका कारण साना र कमजोर मुलुक तथा नागरिकमाथि परिरहेको नकारात्मक दबाबको विषय उठाइएको बताए।
त्यस्तै, जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या र आगामी दिनमा आउन सक्ने विश्वव्यापी संकटबारे पनि सम्बोधनमा उल्लेख गरिएको उनले बताए। जलवायु न्यायका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यको विषयसमेत प्रधानमन्त्री शाहले उठाएको भट्टराईको भनाइ छ।
भट्टराईले यी विषय विगतदेखि नै नेपालले निरन्तर उठाउँदै आएका र वर्तमान अवस्थामा पनि नेपालले प्राथमिकताका साथ जोड दिनुपर्ने विषय भएको बताएका छन्।
‘यी मुद्दा विगतमा पनि निरन्तर उठाइरहेकै विषय हुन् र आजका दिनमा नेपालले जोड दिनुपर्ने विषय यिनै हुन्,’ भट्टराईले भनेका छन्, ‘धन्यवाद प्रधानमन्त्रीज्यू!’
प्रकाशित: ९ आश्विन २०८३ १३:१९ शुक्रबार