राजनीति

योगेशले भने- सांसदलाई ‘दबाब’ दिएर ‘बादल’ लाई दलको नेता बनाइयो

नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार भएको संसदीय दलको नेताको निर्वाचनमा ‘बादल’ निर्विरोध निर्वाचित भएका हुन्।

प्रतिस्पर्धीलाई प्रस्तावक र समर्थक नै बस्न नदिएर दबाबको भरमा उनलाई नेता चुनिएको भन्दै नेता योगेश भट्टराईले आपत्ति जनाएका छन्।

यसअघि युवा सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी गर्दै आएका थिए। तर, मनोनयन दर्ता गर्ने अन्तिम समयमा उनले प्रस्तावक र समर्थक नै नपाएपछि ‘बादल’ एक्ला उम्मेदवार बनेका थिए।

यसै प्रक्रियालाई लिएर नेता भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्। उनले केही दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरूबिच उच्चस्तरको समझदारी बनाउनुपर्नेमा सांसदहरूलाई दबाबमा राखेर निर्णय गरिएको दाबी गरेका छन्।

निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको, नेतृत्वप्रति व्यापक जनगुनासो रहेको र पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा परेको भन्दै उनले यस्तो प्रतिकूल अवस्थामा पार्टीभित्रको शैलीले सिंगो पङ्क्तिलाई थप चिन्तित बनाएको उल्लेख गरेका छन्।

‘बहुआयामिक प्रतिकूलताको सामना गरिरहेको वर्तमान अवस्थामा व्यापक पुनर्गठनमार्फत बलियो एकता बनाउँदै जनविश्वास जागृत गर्नुपर्ने बेला हो,’ उनले लेखेका छन्, ‘तर आज संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो, समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन।’

प्रकाशित: १८ चैत्र २०८२ १८:०४ बुधबार