राजनीति

मुख्यमन्त्रीबाट बाहिरिँदै गर्दा यामलाल कँडेलको घोषणा: राज्यको सुविधा लिन्न

फाइल तस्बिर

कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले पदबाट बाहिरिएपछि राज्यबाट उपलब्ध हुने कुनै पनि सुविधा र सुरक्षा नलिने घोषणा गरेका छन्।

करिब २७ महिनासम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका कँडेलले बुधबार सार्वजनिक सन्देश जारी गर्दै आफूलाई साथ, विश्वास र सहयोग गर्ने सम्पूर्ण कर्णालीवासीप्रति आभार व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक शासन व्यवस्थामा पद र जिम्मेवारी परिवर्तन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै सार्वजनिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता भने यथावत् रहने बताएका छन्।

कँडेलले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा विकासको संस्थागत आधार निर्माणका लागि इमान्दार प्रयास गरेको दाबी गरेका छन्। ती प्रयास र उपलब्धिको निष्पक्ष मूल्याङ्कन गर्ने जिम्मेवारी नागरिकसमक्ष छाडेको पनि उनले उल्लेख गरेका छन्।

उनले फरक मत राख्दै रचनात्मक सुझाव, आलोचना र खबरदारी गर्ने सबैप्रति सम्मान व्यक्त गर्दै सार्वजनिक जीवनमा उपलब्धि र कमजोरी दुवैलाई भविष्यका लागि सिकाइका रूपमा लिनुपर्ने धारणा राखेका छन्।

सन्देशमा कँडेलले नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीलाई सफल कार्यकालको शुभकामना दिँदै कर्णालीको समृद्धि, लोकतान्त्रिक मूल्य र प्रदेशको हितका लागि जुनसुकै भूमिकामा रहे पनि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, उनले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट प्रदान गरिने कुनै पनि सुविधा र सुरक्षा नलिने निर्णय सार्वजनिक गर्दै त्यसबारे सम्बन्धित निकायलाई समेत जानकारी गराएको बताएका छन्।

प्रकाशित: १३ श्रावण २०८३ १९:२६ बुधबार