राजनीति

नोटबन्दी गर्न यज्ञमणिको माग, नेकपाको समर्थन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले हजार र पाँच सय रुपैयाँको नोट नोटबन्दी गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारको पैसा बैंकिङ प्रणालीमा ल्याउन माग गरे।

उनले वर्षौँदेखि देश लुटेर राखेको कालो धनको व्यवस्थापन गर्न नोटबन्दी गर्नुपर्ने बताए।

‘३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालो धन देश लुटेको धन हो। यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले नोटबन्दी गर्नु पर्‍यो’, उनले भने,‘ ‘यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौँ।’

भारतबाट पाठ सिक्नुपर्ने बताउँदै उनले आवश्यक परे नयाँ नोट जारी गर्न माग गरे।

सांसद न्यौपानेको उक्त प्रस्तावमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले नोटबन्दी गर्ने सरकारको कदममा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताए।

नेपाली कम्युनिस्ट पार्टी दलको तर्फबाट सबै सांसदहरूको हस्ताक्षर दिनुपरे पनि तयार रहेको बताउँदै उनले भने, ‘उहाँले राखेको प्रस्तावमा पूर्ण समर्थन समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना नोट हजार र ५०० का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोडदार रूपमा सरकारसँग माग गर्दछु। यसको लागि सभामुखबाट पनि रुलिङ होस्।’

प्रकाशित: १४ आश्विन २०८३ १५:०३ बुधबार