राजनीति

रविको संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णयबारे लेखक- ‘मैले अध्ययन गरेको छैन, यो कानुनी विषय हो’

नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयबारे अनविज्ञता प्रकट गरेका छन्।

बुधबार नागरिक न्युजको संवाद कार्यक्रममा बोल्दै नेता लेखकले लामिछाने संलग्न रहेको भनिएको गोर्खा मिडिया नेटवर्कसम्बन्धी संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णयबारे आफूलाई जानकारी नभएको बताएका हुन्।

कार्यक्रममा नागरिक दैनिकका प्रधानसम्पाद गुणराज लुँइटेले ‘महान्यायाधिवक्ताको कार्यालयले लामिछानेको संलग्नता नदेखिएको भन्दै मुद्दा फिर्ता लिने निर्णय गरेको छ, यसलाई कसरी लिनुहुन्छ ?’ भनी प्रश्न सोधेका थिए।

सो प्रश्नमा लेखकले भने, ‘मैले त्यो बारेमा थाहा पाएको छैन। यो कानुनी कुरा हो। संविधान र कानुन बमोजिम हुने कुरामा कानुन बमोजिम नै हुन्छ।’

लेखकले यो विषय नितान्त कानुनी प्रक्रिया र न्यायिक निरूपणको विषय भएको तर्क गरे। उनले आफूले पछिल्लो निर्णयबारे अध्ययन नगरेको भन्दै थप टिप्पणी गर्न अस्वीकार गरे।

‘यसमा मेरो खासै अध्ययन नभएको हुनाले मैले केही भन्न सकिनँ,’ लेखकले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘कानुन बमोजिम हुने कुरामा कानुन बमोजिम नै जाने कुरा हुन्छ।’

महान्यायाधिवक्ताको कार्यालयले बुधबार मात्रै लामिछानेविरुद्ध विभिन्न जिल्लामा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो।

हेर्नुहोस् पुरा अन्तर्वार्ता:

प्रकाशित: ३० पुस २०८२ २१:५० बुधबार