राजनीति

राजनीतिमा महिला: ठुला दलमा सधैँ उपेक्षा, अर्थपूर्ण सहभागिता कहिले?

नेपालका कम्युनिस्ट पार्टी सिद्धान्तका निकै चर्का कुरा गर्छन्। परिवर्तनका सूत्रधार आफू नै भएकोदेखि समावेशी लोकतन्त्रको जनक आफै भएको ठुलठुला गफ दिँदा उनीहरू रत्तिभर थाक्दैनन्। तर, अवसर दिने बेला भने सधैँ ‘पुरुषवाद’ र ‘नश्लीय’ चिन्तन देखिने गरी वितरण गर्छन्। 

जसको पछिल्लो सिलसिला नेकपा एमालेको ११ औँ महाधिवेशन बनेको छ। एमालेको यो महाधिवेशनले दिएको नतिजाले समावेशिता मान्यताको खिल्ली मात्र उडाएको छैन, महिला प्रतिनिधित्वको सवाल पूर्णतः उपहास नै गरेको छ। 

एमालेको यो महाधिवेशनले १९ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ। जसमा एक जना पद्मा अर्याल मात्रै सचिवमा निर्वाचित भएकी छन्। जसले एमालेलाई कम्युनिस्ट भनिरहन पनि नसुहाउने भन्दै आलोचना भइरहेको छ। आलोचकहरूले एमाले राजनीतिमा घरधन्दा मात्रैको जीवन त्यागेर राजनीतिमा बलिदानी पूर्वक संघर्ष गरेका महिलाहरूलाई किनाराकृत पारेको भनिरहेका छन्।

एमालेमा यस्तो नतिजा आउनुमा अहिले विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको छ।  एमालेकै पूर्व केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभाकी सदस्य ईश्वरी जिएम महिला प्रतिनिधिले नै भोट हाल्दा यसतर्फ ध्यान नदिँदा यस्तो नतिजा आएको बताउँछिन्। नागरिकसँगको कुराकानीमा उनले भनिन्, ‘यो नतिजा हेर्दा समावेशी चरित्र देखिएन। सो पिसका रूपमा एक जना महिला मात्रै राखिएजस्तो देखियो।’ 

उसो त नेपालका मुख्य राजनीतिक दलमा महिलाको प्रतिनिधित्वको विषयमा सधैँ आलोचना भइरहन्छ। दलका नेताका गुटदेखि किचन क्याबिनेटमा महिला अटाउन नसक्दा अवसर पाउने बेला छुट्ने र राज्यका निकाय तथा दलमा अर्थपूर्ण सहभागितामा चुक्ने गरेको बताइन्छ।

स्वयं महिला नेतृत्वहरू महिलाको अर्थपूर्ण सहभागिता गर्नुभन्दा दलका नेताले ‘नस्लवाद’ र ‘परिवारवाद’कै आधारमा आफन्त र नातागोताका महिलाहरूलाई समावेशिताका नाममा समेट्ने गरेको आरोप लगाउँछन्। 

एमालेमा अहिले चुनिएका अनुहारमा पनि त्यसैको झल्को देख्न पाइने एक महिला नेतृ बताउँछिन्। ‘अहिलेकै केन्द्रीय समितिमा महासचिव(शङ्कर पोखरेल)कै घर भित्रका तीन जना चुनिनुभयो। यो नस्लवाद, परिवारवाद नभएर के हो त?,’ ती नेतृको प्रश्न छ। 

महिला समावेशिताका नाममा छुट्टाइने आरक्षण कोटामा पनि बारम्बार उही अनुहार आइरहेको पनि देखिएको छ। ‘आरक्षणमा आउने अनुहार पनि सधैँ उनै हुन्। अहिले पनि उनै दोहोरिएका–तेहरिएका छन्। जसले अरूले अवसर नै पाउँदैनन्,’ एक नेता भन्छन्, ‘पहिले अवसर पाएकाहरूले खुलामै प्रतिस्पर्धा गरिदिए, नयाँलाई ठाउँ हुन्थ्यो। यतातिर यस पटक पनि कसैको ध्यान गएको देखिएन।’ 

समावेशिताका नाममा यस्तै विकृत चित्र भर्खरै १६ वाम घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीभित्र पनि छ। यो दलका शीर्ष तथा प्रभावशाली भूमिकामा महिलाको अर्थपूर्ण सहभागिता नै भेटिँदैन। 

यही दलका नेता वर्षमान पुन र पत्नी पूर्व सभामुख ओनसरी घर्ती केही दिनअघि रोल्पा आउँदा अर्को विकृत चित्र देखियो। जिल्लामा भएका पार्टीका कार्यक्रममा वर्षमान जताततै सहभागी हुँदा सभामुखसम्म भइसकेकी ओनसरी घरभित्रै सीमित देखिइन्। यसरी ओनसरी सार्वजनिक कार्यक्रममा नदेखिँदा स्थानीय कार्यकर्ताबिच गसिपको विषय बनेको छ। 

यही चित्र नेपाली कांग्रेस भित्र पनि उस्तै रहेको गुनासो महिला नेतृहरूले गर्ने गरेका छन्। 

प्रकाशित: ६ पुस २०८२ १८:३१ आइतबार