राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने र समर्थनको विषयमा उम्मेदवार गणेश कार्कीले असन्तुष्टि व्यक्ति गरेका छन्।
कार्कीले सभापतिले महाधिवेशन उद्घाटनका क्रममा ‘अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य होइन’ भन्ने अभिव्यक्ति दिएको भन्दै उम्मेदवारी फिर्ता गरी सामूहिक समर्थन गर्नु पार्टीको सिद्धान्तविपरीत भएको बताएका छन्।
उनले सभापतिको भनाइ सेलाउन नपाउँदै उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवारलाई समर्थन गर्नुले नेतृत्वकै भनाइको खिल्ली उडाएको बताउँदै यस्तो अभ्यासले रास्वपाले आलोचना गर्दै आएको गठबन्धन र प्यानल संस्कृतिको झल्को दिने बताएका हुन।
कार्कीले चुनाव आउँदै–जाँदै गर्ने प्रक्रिया भए पनि पार्टीको विधि, नीति र चरित्र दीर्घकालीन हुने भएकाले नेतृत्वले गुटबन्दी र जालझेल होइन, लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउने काम गर्नुपर्ने बताए। प्रतिनिधिहरूले समय, श्रम र खर्च गरेर लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको भन्दै उनीहरूको स्वतन्त्र रूपमा मतदान गर्ने अधिकार कुनै पनि कारणले खोस्न नहुने उनको भनाइ छ। यसअघि रास्वपाको महामन्त्रीको उम्मेदारी दिएका ६ जना व्यक्तिले नाम फिर्ता गरेका छन्।
प्रकाशित: १२ असार २०८३ १४:२५ शुक्रबार