नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस काउन्सिल सम्बन्धि ऐन सम्बन्धि अध्यादेश फिर्ता लिन माग गरेका छन् ।
नेपाल प्रेस युनियन मकवानपुर शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष लम्सालले सरकारले चोर बाटोबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी विधेयक ल्याउन लागेको टिप्पणी गरे । ‘सरकारले संसद छलेर चोरबाटोबाट अध्यादेश ल्याउन लागेको छ,’ लम्सालले भने, ‘राष्ट्रपतिले यो अध्यादेश फिर्ता गर्नुपर्छ ।’ लम्सालले स्वतन्त्र पत्रकारिता संकुचित गर्न सरकार लागेको बताए । संसदमा पेस भएको मिडिया काउन्सिल विधेयक परिमार्जन गरेर पास गर्नुपर्ने लम्सालको तर्क थियो ।
सरकारले सञ्चार माध्यममा प्रहरी पठाएर पत्रकारलाई धरपकड गरेको घटनाको निन्दा गरे । ‘लोकतान्त्रिक शासन व्यवस्थामा प्रहरी सञ्चार गृहमा छिरेर आतंक मच्चाएका छन्,’ लम्सालले भने, ‘सरकारले आगामी दिनमा यस्तो कार्य नगरोस् ।’ आम नागरिकको सूचनाको हक सुनिस्चि गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको सुरक्षा गर्न अध्यक्ष लम्सालले आग्रह गरे ।
सरकार गणतन्त्रको बदनाम गर्न लागेको आरोप लगाए । ‘२०६२÷६३ को आन्दोलनमा गणतन्त्रको नारा बुलन्द गर्ने गगन थापा अहिले नेपाली कांग्रेसको सभापति हुनुहुन्छ । सरकारले उहाँलाई चार्ज गरेको छ,’ लम्सालले भने, ‘गणतन्त्रको नारा खन्काउने थापाको बद्नाम गराउन लागि रहेको छ ।’ उनले सरकारमाथि गणतन्त्रलाई बदनाम गर्ने र लोकतान्त्रिक उपलब्धिहरू कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाए । बीपी कोइरालाले २००७ सालमा लोकतन्त्र र प्रजातान्त्रिक समाजवादको जिम्मेवारी बोकेर अघि बढेको प्रसंग उल्लेख गर्दै अहिलेको राजनीतिक नेतृत्वले पनि लोकतान्त्रिक उपलब्धिको रक्षा गर्नुपर्ने उनको भनाइ थियो ।
लम्सालले न्यायालयका न्यायमूर्तिहरूमाथि उठेका प्रश्नहरूको तथ्यपरक अनुसन्धान नगरी प्रचारबाजी र मानमर्दन गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे । राज्यले आफ्नो अभीष्ट पूरा गर्न व्यक्तिहरूलाई गलत सावित गर्ने र समाजमा भ्रम फैलाउने काम गर्न नहुने उनले बताए ।
प्रकाशित: २० कार्तिक २०८३ १९:४१ शुक्रबार



