देशमा जेन-जी आन्दोलनले ल्याएको राजनीतिक तरङ्ग र सरकारद्वारा आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक दल दर्ता गराउनेहरूको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार जेन-जी आन्दोलनपछिको छोटो अवधिमा मात्रै २३ वटा नयाँ राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन्।
तीमध्ये तीनवटा दलले मात्र आवश्यक प्रक्रिया पूरा गरी आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रमाणपत्र पाउने दलहरूमा हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’, दिनेशराज प्रसाईंको ‘गतिशील लोकतान्त्रिक पार्टी’ र कविर सोपानको ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ रहेका छन्।
यी नयाँ दलहरूको दर्तासँगै नेपालमा आधिकारिक रूपमा दर्ता भएका राजनीतिक दलहरूको कुल संख्या १२६ पुगेको छ।
बुधबारसम्मको विवरण अनुसार थप २० वटा नयाँ दल आयोगमा दर्ताको प्रक्रियामा रहेका छन्। आयोगले यी दलहरूका निवेदनउपर छानबिन गरी आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।
प्रक्रियामा रहेका दलहरू र तिनका प्रस्तावित नेतृत्वकर्ताहरूमा ज्ञान बहादुर तामाङको ‘उज्यालो नेपाल पार्टी’ समेत रहेको छ। आयोगले सो पार्टीलाई विधानको अनुसूची ३ लगायतका थप कागजात पेश गर्न पत्राचार गरेको छ।
यसैगरी, प्रक्रियामा रहेका अन्य दलहरूमा अजय कुमार राईको ‘राष्ट्रिय परिवर्तन पाटी’, गोपीलाल न्यौपानेको ‘नेपाल लिबरल पार्टी’, हिरा प्रसाद सेतीको ‘राष्ट्रिय जेन-जी पार्टी नेपाल’, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘कम्युनिष्ट पार्टी नेपाल’, खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल’, योगेन्द्र मण्डलको ‘राष्ट्रिय उर्जाशील पार्टी, नेपाल’, रियाज अहमदको ‘राष्ट्रिय स्वराज पार्टी’, रमण कुमार कर्णको ‘जनादेश पार्टी नेपाल’, चन्द्रप्रकाश सुवेदीको ‘सुन्दर नेपाल निर्माण पाटी’ र सबिन सिग्देलको ‘नेपाल जनसेवा पार्टी’ रहेका छन्।
थप प्रस्तावित दलहरूमा रत्न प्रसाद श्रेष्ठको ‘नागरिक सर्वोच्चता पार्टी नेपाल’, राजकुमार कक्षपतीको ‘नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र)’, सुन्दर राम बोहराको ‘आवाज पार्टी’, गणेशकुमार मण्डलको ‘सार्वभौम नागरिक पार्टी’, माधवप्रसाद खतिवडाको ‘नागरिक बचाउ दल, नेपाल’, अकबर खानको ‘राष्ट्र निर्माण दल नेपाल’, रमण कुमार कर्णको ‘दल जनादेश पाटी नेपाल’ र प्रशान्त सिंहको ‘पिपुल फर्स्ट पार्टी’ पनि दर्ताको निवेदनसहित प्रक्रियामा सामेल छन्।
यसबीच, वामदेव गौतम नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ ले भने आयोगबाट आफ्नो दल खारेज गराएको छ।
निर्वाचन आयोगले दल दर्ताका लागि प्रक्रियागत मापदण्ड तोकेको छ। आयोगका सह-प्रवक्ता प्रकाश न्यौपानेका अनुसार कुनै पनि नयाँ दल दर्ता हुनका लागि दलको स्पष्ट विधान, घोषणापत्र, र नियमावली अनिवार्य रूपमा पेश गर्नुपर्दछ।
यसका साथै, दल दर्ताका लागि कम्तीमा ५०० जना समर्थकको हस्ताक्षर आवश्यक पर्दछ, र ती समर्थकहरू अन्य कुनै पनि राजनीतिक दलको सदस्य हुनुहुँदैन भन्ने प्रतिबद्धता पत्र पनि बुझाउनुपर्छ।
दलको केन्द्रीय समितिको सनाखतका लागि कम्तीमा २१ जना केन्द्रीय सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ। आयोगले निवेदनमा संलग्न सबै कागजातहरूको विधिवत् छानबिन गर्ने र समर्थकहरूको हस्ताक्षर सनाखतका लागि सम्बन्धित जिल्लाहरूमा पठाउने प्रक्रिया रहेको न्यौपानेले जनाए।
उनले भने, ‘दर्ताका लागि आवेदन दिएका अधिकांश नयाँ दलहरूले तोकिएको ५०० समर्थक जुटाउन र उनीहरूको विवरण प्रमाणित गर्न सकेका छैनन्। कुनै दलको विधान र नियमावली अपूर्ण छ भने कुनैमा सनाखतका लागि आवश्यक केन्द्रीय सदस्यको संख्या नपुग्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन। यो नै अहिले देखिएको प्रमुख समस्या हो।’
आयोगले सबै प्रक्रिया पूरा गर्नका लागि कार्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ। तोकिएको समयभित्र प्रक्रिया पूरा नगर्ने दलहरूले आगामी निर्वाचनमा भाग लिन नपाउने आयोगले स्पष्ट पारेको छ।
जेन-जी आन्दोलनपछि नयाँ दल दर्ता गर्ने लहर नै चलेको छ। राजनीतिक दलहरूप्रतिको वितृष्णा र वैकल्पिक राजनीतिको खोजीका लागि विशेषगरी युवा पुस्तामा राजनीतिक परिवर्तनप्रतिको आकाङ्क्षा बढेको छ।
उनीहरू स्वयं राजनीतिक प्रक्रियामा सामेल हुन उत्साहित छन्। यद्यपि, उत्साहजनक रूपमा दर्ता प्रक्रियामा आए पनि कानुनी र प्रक्रियागत अड्चनहरू पार गर्नु यी नयाँ दलहरूका लागि प्रमुख चुनौती बनेको छ।
आगामी निर्वाचनमा कति नयाँ दलले आफूलाई स्थापित गर्न सक्छन्, त्यो भने हेर्न बाँकी नै छ।
अधिकांश दल प्रक्रियामै अलमल: कसलाई के पुगेन ?
उज्यालो नेपाल पार्टी (ज्ञान बहादुर तामाङ): आयोगले यस दललाई अनुसूची-३ लगायतका थप विवरणहरू अपुग भएको भन्दै मिति २०८२/०७/१२ मा पत्राचार गरी कागजात माग गरेको छ।
राष्ट्रिय जेन-जी पार्टी नेपाल (हिरा प्रसाद सेती): यस दललाई पनि आयोगले विधान, नियमावली, घोषणापत्र र अनुसूची-३ जस्ता आधारभूत र अनिवार्य कागजातहरू माग गर्दै पत्राचार गरेको छ।
कम्युनिष्ट पार्टी नेपाल (नेत्र विक्रम चन्द ‘विप्लव’): यो दलले केन्द्रीय समितिको दस्तखत सहितको प्रमाणित विवरण, अनुसूची-३ बमोजिमको प्रतिबद्धता पत्र, समर्थकहरूको विवरण सहितको एक्सेल फाइल, नियमावली र घोषणापत्र जस्ता महत्त्वपूर्ण कागजातहरू पेश गर्न बाँकी रहेकोले प्रक्रिया रोकिएको छ।
जनयुग पार्टी (नवराज सुवेदी): यस दलले पनि केन्द्रीय समितिको प्रमाणित विवरण र निर्णयहरू, अनुसूची-३ बमोजिमको प्रतिबद्धता, समर्थकको एक्सेल प्रति, र विधानमा अनुसूची-१, २ र ३ समेत संलग्न गर्नुपर्ने देखिएको छ।
राष्ट्रिय परिवर्तन पार्टी (अजय कुमार राई): यस दलले पेश गरेका समर्थकहरूको विवरण (अनुसूची-३ बमोजिम) सनाखतकै क्रममा रहेकोले आयोग प्रतिवेदनको पर्खाइमा छ।
नेपाल लिबरल पार्टी (गोपीलाल न्यौपाने): यस दलले अनुसूची-३ बमोजिमको कागजात पेश गरेपछि समर्थकहरूको सनाखतका लागि जिल्लामा पठाउने तयारी आयोगले गरेको छ।
हाम्रो पार्टी नेपाल (खगेन्द्र सुनार), राष्ट्रिय उर्जाशील पार्टी, नेपाल (योगेन्द्र मण्डल), र राष्ट्रिय स्वराज पार्टी (रियाज अहमद शेख): यी तीनवटै दलले बुझाएको प्रतिबद्धता पत्रका आधारमा समर्थकहरूको सनाखतका लागि आयोगले सम्बन्धित जिल्लाहरूमा कागजात पठाइसकेको छ र सोही प्रतिवेदनको प्रतीक्षा गरिरहेको छ।
नेपाल जनसेवा पार्टी (सविन सिग्देल) र नागरिक सर्वोच्चता पार्टी नेपाल (रत्न प्रसाद श्रेष्ठ): यी दुई दलले समर्थकहरूको विवरण सहितको एक्सेल सिटमा मतदाता नम्बर थप गरेर पठाउन बाँकी रहेकोले प्रक्रिया अघि बढेको छैन।
आयोगले मिति २०८२/०७/२४ मा यससम्बन्धी निर्देशन दिएको थियो।
जनादेश पार्टी नेपाल (रमण कुमार कर्ण): यस दलले पनि समर्थकहरूको विवरण सहितको एक्सेल सिट नै बनाएर पठाउन बाँकी रहेको विवरणमा उल्लेख छ।
नेपाल राष्ट्रिय युवा पार्टी (हिमालय बहादुर चन्द): यस दलको हकमा व्यक्तिको निवेदन पत्र मात्र प्राप्त भएको र अन्य प्रक्रिया अघि नबढेको देखिन्छ।
नागरिक उन्मुक्ति पार्टी, नेपाल (कविर सोप): यो दलले भने समर्थकहरूको सनाखत प्रक्रिया पूरा गरिसकेको छ। सनाखत भएर आइसकेकोले यो दल दर्ताको अन्तिम चरणमा पुगेको थियो (यो दलले पछि प्रमाणपत्र पाइसकेको छ)।
सुन्दर नेपाल निर्माण पार्टी (चन्द्रप्रकाश सुवेदी), नेपाल कम्युनिष्ट पार्टी (बामपन्थी केन्द्र) (राजकुमार कक्षपती), आवाज पार्टी (सुन्दर राम बोहरा), सार्वभौम नागरिक पार्टी (गणेशकुमार मण्डल), नागरिक बचाउ दल, नेपाल (माधवप्रसाद खतिवडा), राष्ट्र निर्माण दल नेपाल (अकबर खान), र पिपुल फर्स्ट पार्टी (प्रशान्त सिंह) जस्ता दलहरू पनि विभिन्न प्रक्रियागत चरणमै रहेका छन् र दर्ताका लागि आवश्यक सम्पूर्ण मापदण्ड पूरा गर्न सङ्घर्ष गरिरहेका छन्।
प्रकाशित: २७ कार्तिक २०८२ १५:२० बिहीबार