नेपाली कांग्रेसको १५औं महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि कि पछि भन्ने विवाद पेचिलो बन्दै गएका बेला नेता डा. शेखर कोइरालाले सहमतिको बाटो खोजी गर्न थालेका छन् । नेताहरू आआफ्नै अडानमा कायमै रहँदा असोज २८ देखि जारी केन्द्रीय अनिर्णीत बनेपछि कोइरालाले पार्टीका केन्द्रीय सदस्य, पूर्व पदाधिकारी, पदाधिकारी तथा भ्रातृ संगठनका नेताहरूसँगको छलफललाई तीव्र बनाएका हुन्।
पार्टीका सय बढी केन्द्रीय सदस्यसँग एक्ला एक्लै र समूहमा भेटेका कोइरालाले मंगलबार नियमित महाधिवेशनको पक्षधर केन्द्रीय सदस्यहरू, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसँगै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेका नेता द्वय देवराज चालिसे र गुरुराज घिमिरेसँग भेटेका छन्। सँगै उनले भ्रातृ संगठनका विभिन्न तहका नेताहरूसँग छलफल गरेका छन्।
सो अवसरमा पार्टीभित्रको बृहत्तर हित र एकता अहिलेको आवश्यकता भएको जनाउँदै कोइरालाले सहमतिको साझा बाटो खोज्नु पर्नेमा जोड दिए। विशेष महाधिवेशनले पार्टीमा विभाजन र विखण्डनको मनोभावलाई बढाउने त होइन भन्ने चिन्ता व्यक्त गर्दै आएका कोइरालाले नियमित महाधिवेशनको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई आग्रह गरेको निकट स्रोतको दाबी छ।
कोइरालाका सहयोगी दिनेश थपलियाले पार्टीभित्र देखिएको गतिरोधको अन्त्य गरेर निकास दिनका लागि पार्टीका विभिन्न तहका नेताहरूसँग छलफल तीव्र बनाइएको जानकारी दिए। कांग्रेसलाई देशभित्र र बाहिरबाट नियालिरहेको जनाउँदै थपलियाले भने,‘पार्टीभित्र परेको गाँठो फुकाउन उहाँ(शेखर कोइराला)ले पहल थाल्नु भएको छ। विभिन्न उपाय र विकल्पहरू नेताले पनि सुझाउनु भएको छ।’ कोइरालाबाट उत्तम र पार्टीको बृहत्तर हित र एकता कायम हुने गरी निकास दिने प्रयास भइरहेको थपलियाले बताए।
कोइरालाले महामन्त्री थापासहितका नेताहरूसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मालाई पनि आमन्त्रण गरेका थिए। तर, उनीहरू जिल्ला बाहिर भएकाले उपस्थित नभएकाले छलफलमा सहभागी हुन नसकेको एक नेताले जानकारी दिए। कोइरालाले मंसिरको सट्टा पुस अन्तसम्म महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन्। केन्द्रीय समितिबाट कुनै पनि निर्णय बहुमतका आधारमा गर्न नहुने भन्दै कोइरालाले सहमतिबाटै निर्णयमा पुग्नुपर्ने बताउँदै आएको एक सदस्यले जानकारी दिए।
महामन्त्रीद्वय थापा र शर्मा मङ्सिर भित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको पक्षमा उभिएका छन्। पार्टी विधानको व्यवस्था अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरिसकेको अवस्थामा त्यसलाई नजरअन्दाज गर्न नसकिने उनीहरूले बताउँदै आएका छन्।
पुसको अन्तिमसम्ममा नियमित महाधिवेशन गर्ने गरी तयारी गर्नुपर्ने सोहीअनुसार अघि बढ्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आग्रह गर्दै आएका छन्। त्यस्तै, महामन्त्रीद्वयलाई पनि विशेष महाधिवेशनको माग गर्ने महाधिवेशन प्रतिनिधिहरूको भावनालाई समेटेर पुस अन्तिमसम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पनि उनले गरेको निकटहरूको दाबी छ। तलदेखि माथिसम्म र माथिदेखि तलसम्म नेतृत्व परिवर्तनका लागि नियमित महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन्।
प्रकाशित: २ मंसिर २०८२ १८:२५ मंगलबार