राजनीति

सार्क पुनः सक्रिय होला?

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले गत आइतबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः सक्रिय बनाउन आह्वान गरेपछि भारतले सार्क निष्क्रिय हुनुमा पाकिस्तान जिम्मेवार रहेको भन्ने पुरानै धारणा दोहोर्‍याएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनका क्रममा माल्दिभ्सका राष्ट्रपतिको टिप्पणीप्रति प्रतिक्रिया दिँदै सार्कको काम अवरुद्ध गर्ने देश पाकिस्तान भएको आरोप लगाएका हुन्। ‘भारत बलियो क्षेत्रीय सहकार्यको पक्षमा छ र धेरै दशकदेखि यसका लागि काम गर्दै आएको छ। दक्षिण एसियाका सबैलाई थाहा छ कि कुन देश र कस्ता गतिविधिका कारण सार्क अवरुद्ध भएको छ,’ प्रवक्ता जैसवालले पत्रकार सम्मेलनमा भने, ‘आखिर सहकार्यका लागि सद्भावना आवश्यक हुन्छ।’

सार्क यस क्षेत्रका सबै मुलुकलाई समेट्ने बहुपक्षीय मञ्च हो। यसमा नेपालसहित दक्षिण एसियाका आठ देश सदस्य छन्।

तर सन् २०१६ मा पाकिस्तानको इस्लामाबादमा हुने तय भएको सार्क शिखर सम्मेलन भारत र अन्य केही सदस्य राष्ट्रले बहिष्कार गरेपछि संगठनको गतिविधि लगभग ठप्प छ। भारतले आफ्नो भूमि उरीमा भएको एक आतंकवादी हमलापछि त्यस्तो निर्णय लिएको थियो।

सार्कको अन्तिम शिखर सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो। त्यसयता भारत–पाकिस्तान तनावका कारण यो क्षेत्रीय संगठन प्रभावहीन बन्दै गएको छ। माल्दिभ्सका राष्ट्रपति मुइज्जुले गत आइतबार माल्दिभ्सको स्वतन्त्रता दिवसका अवसरमा दिएको भाषणमा सार्कको वर्तमान अवस्थाबारे चर्चा गरेका थिए। उनले क्षेत्रीय शान्ति र सहकार्यका लागि भारत र पाकिस्तानबिच संवाद आवश्यक रहेको बताएका थिए।

उनले ‘क्षेत्रीय शान्ति र सहकार्यको हितमा सार्क सदस्य राष्ट्रहरू वार्ताको टेबलमा फर्किनुपर्ने’ आह्वान गरेका थिए। साथै भारत र पाकिस्तानबिच मध्यस्थता गर्न माल्दिभ्स तयार रहेको पनि बताएका थिए।

बंगलादेश र माल्दिभ्सको पहल

बंगलादेशले सार्कलाई पुनर्जीवित गर्न आह्वान यसै वर्षको सुरुमा र गत वर्ष पनि गरेको थियो। अब आएर यो प्रयासमा माल्दिभ्सले पनि साथ दिने भएको छ। बंगलादेशका विदेशमन्त्री खलिलुर रहमानले यस वर्षको सुरुआतमा सार्कको पुनर्जीवनप्रति आफ्नो देशको ‘अटल समर्थन र प्रतिबद्धता’ रहेको बताएका थिए। उनले सार्कलाई पुनः सक्रिय बनाउनु बंगलादेश नेस्नलिस्ट पार्टी (बिएनपी) नेतृत्वको सरकारको प्रमुख परराष्ट्र नीतिगत उद्देश्य भएको बताएका थिए तर त्यसअघि बंगलादेशका अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले गत वर्ष भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा सार्कका विदेश सचिवहरूको बैठक पुनः बोलाउनुपर्ने धारणा राखेका थिए। भारतले त्यतिबेला ढाकाले ‘आतंकवादलाई सामान्य रूपमा स्वीकार गर्न नहुने’ बताएको थियो।

गत वर्षको फेब्रुअरीमा पनि भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले भनेका थिए, ‘दक्षिण एसियाका सबैलाई थाहा छ कि कुन देश र कस्ता गतिविधिले सार्कलाई अवरुद्ध बनाइरहेका छन्। विदेशमन्त्री जयशंकरले बंगलादेशले आतंकवादलाई सामान्य रूपमा स्वीकार गर्न नहुने स्पष्ट पार्नुभएको छ।’

सार्कका विदेश सचिवहरूको अन्तिम बैठक सन् २०१६ मा भएको थियो। त्यसयता संगठनको औपचारिक गतिविधि लगभग निष्क्रिय अवस्थामा छ।

(द वायरमा आधारित)

प्रकाशित: १४ श्रावण २०८३ ११:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App