राजनीति

झन्डा विवादबारे रास्वपाले भन्यो- प्राविधिक हो, औपचारिक वार्तामा स-सम्मान राखिएको थियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपाली झन्डा नराखिएको भन्ने विवादको खण्डन गरेको छ।

भारतीय वित्तमन्त्रीको कार्यकक्षमा खिचिएको तस्बिरलाई लिएर भ्रम फैलाइएको भन्दै रास्वपाले प्रतिनिधिमण्डल स्तरको औपचारिक द्विपक्षीय वार्तामा भने दुवै देशको झन्डा स-सम्मान राखिएको बताएका हुन्।

रास्वपाका तर्फबाट जानकारी दिँदै रास्वपा प्रवक्ता जगदीश खरेलले भने, ‘जुन एउटा भारतीय झन्डा मात्रै भएको तस्बिर बाहिरिएको छ, त्यो भारतीय वित्तमन्त्रीको कार्यकक्षमा भएको छोटो भेटघाटको हो, दुईपक्षीय प्रतिनिधिमण्डल स्तरको वार्ताको होइन।’

नेपालका प्रधानमन्त्री वा अर्थमन्त्रीको कार्यकक्षमा नेपाली झन्डा मात्रै हुने दृष्टान्त दिँदै उनले भारतीय मन्त्रीको कार्यकक्षमा भारतीय झन्डा मात्र हुनु स्वाभाविक भएको बताए।

औपचारिक वार्तामा भने टेबलदेखि डिजिटल डिस्प्लेसम्मै दुवै देशका झन्डा राखिएको उनले प्रस्ट पारे। रास्वपाले झन्डा विवादलाई प्राविधिक विषय भन्दै अर्थमन्त्री वाग्लेको भ्रमणको उपलब्धि झनै महत्त्वपूर्ण रहेको निष्कर्ष निकालेको छ।

करिब तीन दिनको दौडधुपपूर्ण भ्रमण असाध्यै उपलब्धिमूलक रहेको ब्रिफिङ स्वयं अर्थमन्त्री वाग्लेले पार्टीमा गराएका छन्। भ्रमणका क्रममा भारतीय सरकारी अधिकारीका साथै निजी र अन्य क्षेत्रसँग पनि महत्त्वपूर्ण छलफल भएको रास्वपाले जनाएको छ।

भ्रमणका क्रममा दुई देशबीचको आर्थिक सहायता, साझेदारी र कनेक्टिभिटीका विषयमा महत्त्वपूर्ण छलफल भएको छ। विशेषगरी भोटेकोशी बाढीपछिको पुनर्निर्माण र पुनर्स्थापनामा भारतीय सहयोगका विषयमा प्रतिबद्धताहरू आएको बताइएको छ।

साथै, बाढी प्रभावित क्षेत्रमा नेपाल सरकारले गरेको सहयोगप्रति भारत सरकारले अर्थमन्त्री वाग्लेमार्फत धन्यवाद समेत ज्ञापन गरेको रास्वपाले जानकारी दिएको छ। यी समग्र छलफलले दुई देशबीचको आर्थिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको पार्टीको ठहर छ।

प्रकाशित: ४ आश्विन २०८३ १६:०३ आइतबार