गत असार २३ गतेको संसद्बाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिपक्षमा बसिसकेको छ। गत वर्षको असारमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सरकार बनाउने सहमति भएको थियो, त्यसमा नागरिक उन्मुक्ति पनि जोडिएको थियो। नागरिक उन्मुक्ति सरकारमै पनि सहभागी भएको थियो। अहिले पार्टीका तर्फबाट अरूणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।
तर, सरकारको एक वर्ष बित्दा-नबित्दै नागरिक उन्मुक्तिले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। कांग्रेसकै नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारबाट पार्टीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि नागरिक उन्मुक्तिले सङ्घीय सरकारबाट पनि बाहिरिने निर्णय गरेको हो। नागरिक उन्मुक्तिले गत असार २१ गते नै सरकारबाट बाहिरिने निर्णय गरिसकेको हो। तर, मन्त्री चौधरी भने सरकारमै छन्।
नागरिक उन्मुक्ति एकातिर, सरकारबाट बाहिरिने निर्णय गरिसकेको र संसद्मा प्रतिपक्षी बेञ्चमा बसिसकेको र अर्कोतिर, सरकारमै बसिरहेको अवस्थामा छ। यसबारे पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ भन्छिन्, ‘अरूणजी (मन्त्री अरूणकुमार चौधरी) ले पनि संरक्षकज्यूको निर्देशनको सम्मान गर्दै आवश्यक निर्णय गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’
तपाईं र मन्त्रीज्यूका बीचमा केही ‘मिसअन्डरस्ट्यान्डिङ’ छ ? भनेर प्रश्न गर्दा अध्यक्ष श्रेष्ठले भनिन्, ‘त्यस्तो केही छैन।हामी पार्टीभित्र निर्णयहरूलाई व्यक्तिमा होइन, संस्थामा आधारित भएर हेर्छौँ। संरक्षकज्यू, अध्यक्षको हैसियतमा मर कार्यकारिणी समितिको संयुक्त धारणा स्पष्ट थियो-सरकारबाट बाहिरिने निर्णयसँगै सबै पदाधिकारीले पद त्याग गर्नु आवश्यक छ। अरूणजीको व्यक्तिगत निर्णयले तत्काल त्यो धारणाअनुसार नभए पनिहामी पार्टीको विधि, संवाद र संयमतामार्फत समाधान खोज्ने प्रक्रियामा छौँ। अध्यक्षको निर्देशन पालना गर्नु नीतिगत आस्था होर मलाई विश्वास छ, अन्ततः पार्टीको सामूहिक निर्णय नै मान्य हुनेछ।’
त्यसो त यसबीचमा पार्टी संरक्षक रेशम चौधरीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका सत्तासीन दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे। भेटमा के कुराकानी भए, त्यो सार्वजनिक गरेनन्। तर, चौधरीले राजनीतिक विषयमा कुराकानी भएको प्रतिक्रिया दिए। २३ गते बालुवाटार पुगेर प्रधानमन्त्री ओली भेटेका संरक्षक चौधरीले त्यसको भोलिपल्ट अर्थात् २४ गते बूढानीलकण्ठ पुगेर देउवा भेटेका थिए।
संयोग नै भन्नुपर्ला- त्यसपछि मन्त्री चौधरीले राजीनामा दिएका छैनन्। अब कहिलेसम्म राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले ‘सम्भवत: आज साँझसम्म राजीनामा दिनुहुन्छ होला’ भनेर जवाफ दिन्छिन्। तर, उनलाई पनि यकिन छैन। कतिपयले संरक्षक चौधरीले मन्त्री चौधरीलाई राजीनामाका लागि अडाइरहेको बताउँछन्। तर, त्यस्तो नभएको बताउँछिन् अध्यक्ष श्रेष्ठ। पार्टीबाट बाहिरिने निर्णयमा संरक्षक चौधरी पनि सहमत भएको उनको भनाइ छ।
उसो त अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीका बीचमा श्रीमाती-श्रीमान् भइकन पनि त्यति मिल्ती छैन। पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाट दुई वर्षअघि सुरु भएको उनीहरूबीचको ‘शीतयुद्ध’ अहिले पनि सकिएको छैन। दुईवर्ष अगाडि सुदूरपश्चिम प्रदेशमा कसले मुख्यमन्त्री बनाउने भन्ने विषयमा चर्किएको उनीहरूबीचको मुडभेद गत वैशाखमा जनमत पार्टीसँग एकता गर्ने कि नगर्न भन्ने विषयमा आएर बल्झिएको थियो। अहिले पनि कहीँ त्यही विषयले काम गरेको त होइन भन्ने आशङ्का उब्जिन थालेको बताइन्छ।
हुन पनि नागरिक उन्मुक्तिले सरकारबाट बाहिरिने निर्णय गरेको पाँच दिन बितिसकेको छ। निर्णय गर्दा प्रधानमन्त्री ओली स्पेन थिए। उनी स्पेनबाट फर्किएको तीन दिन बितिसकेको छ तर, मन्त्री चौधरीले भने राजीनामा बुझाएका छैनन्।
प्रकाशित: २६ असार २०८२ १७:२८ बिहीबार