नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मिडियाले आफूमाथि महाधिवेशन सार्न लागेको आरोप लगाएको भन्दै असन्तुष्टि पोखेका छन्। कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्म जयन्तीको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै शेखरले असन्तुष्टि पोखेका हुन्।
‘हुँदा हुँदा मिडियालाई पनि कांग्रेसको अधिवेशन किन चिन्ता लागेको हो?,’ शेखरले प्रश्न गरे, ‘मैले बुझेको छैन। एउटा पार्टीको अधिवेशन हो, निरन्तर चार–चार वर्षमा हुनुपर्छ। भइरहन्छ।’
मिडियाले आफूलाई महाधिवेशनकै बारेमा सोधेर दिक्क लगाइसकेको भन्दै शेखरले दिक्दारी पोखे। ‘मलाई त दिक्क पनि लाग्छ कहिलेकहीँ। आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने?,’ उनले भने। कांग्रेसको अधिवेशन केही लम्बिन सक्ने उनले बताए।
आफूले परिस्थिति हेरेर यही कुरा भन्दा पत्रकारले महाधिवेशन सार्न लागेको भनेर लेखिदिएको भन्दै शेखर चित्त दुखाई सुनाए। उनले अगाडी भने, ‘अब यो पत्रकारहरूले के लेख्छन् भने शेखर कोइरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर, मैले सार्न खोजेको होइन। म त पुस २६ गते नै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा हो नि।’
तर क्रियाशील सदस्यताको फाराम पठाउँदा बदमासी भएको शेखरले बताए। त्यो कुरा आफूले नगरेको पनि उनले सुनाए। ‘नयाँ क्रियाशील सदस्य बाँड्ने क्रममा देशभर सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला,’ शेखरले भने, ‘अर्कैले पठाएको होला। मैले त थाहा पाएँ। थाहा पाएपछि चनाखो भएँ।’
अरू कसैले गरेको कमजोरीले महाधिवेशन सर्न लाग्दा पनि ‘शेखर समूह’ भनेर जोडिदिएकामा उनी रुष्ट सुनिए।
प्रकाशित: ८ पुस २०८२ १७:५९ मंगलबार