नेकपा एमालेका सचिव महेश बस्नेतले त्रिपुरेश्वरमा चालक अर्जुन दोङले गरेको आत्मदाहको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
बस्नेतले सामाजिक सञ्जालमार्फत दोङको आत्मदाह र मृत्यु केवल एउटा घटना नभइ जनतामा बढ्दो निराशा, आवेग र सामाजिक असन्तुलनको संकेत भएको बताएका छन्।
उनले सामान्य विवादसमेत आत्मघाती कदम वा अराजकतामा परिणत हुने अवस्था किन सिर्जना भइरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।
'त्रिपुरेश्वरमा भएको चालक अर्जुन दोङको दुःखद आत्मदाह घटनाले सरकार र समाज दुवैलाई गम्भीर प्रश्न गरेको छ।उनको दुखद आत्मदाह र मृत्यु केवल एउटा घटना होइन, जनतामा बढ्दो निराशा, आवेग र सामाजिक असन्तुलनको संकेत हुन्,' उनले लेखेका छन्, 'सामान्य विवादसमेत आत्मघाती कदम वा अराजकतामा परिणत हुने अवस्था किन बनिरहेको छ?'
बस्नेतले नयाँ पुस्ताको ऊर्जा अराजकता र अपराधतर्फ नभई सिर्जना तथा राष्ट्रनिर्माणतर्फ जाने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
उनले घटनाको निष्पक्ष छानबिन गरी सत्य बाहिर ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।
'नयाँ पुस्ताको ऊर्जा अराजकता र अपराधतर्फ होइन, सिर्जना र राष्ट्रनिर्माणतर्फ जाने वातावरण बनाउन सरकार गम्भीर बनोस्,' उनले भने, 'घटनाको निष्पक्ष छानबिन होस्, सत्य बाहिर आओस् र यस्ता घटना दोहोरिन नदिन ठोस कदम चालियोस्।'
प्रकाशित: ६ आश्विन २०८३ १२:४७ मंगलबार