संसद् जनताको आवाज सुनाउने थलो हो। यहाँ उठ्ने प्रश्न व्यक्तिगत पीडाभन्दा माथि उठेर सार्वजनिक सरोकारसँग जोडिनुपर्ने अपेक्षा गरिन्छ। तर मंगलबार प्रतिनिधिसभाको विशेष समयमा एउटा सांसद आफ्नो व्यक्तिगत पीडा सम्झँदै बोल्दाबोल्दै भक्कानिइन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा संसद्को विशेष समय लिएर उभिएर बोलिरहँदा भावविह्वल भइन्। उनको आँसुमा केवल व्यक्तिगत शोक थिएन, जेनजी आन्दोलनमा छोरासहित सन्तान गुमाएका परिवारको पीडा, न्यायको प्रतीक्षा र त्यही पीडामाथि भइरहेको सार्वजनिक टिप्पणीप्रतिको आक्रोश पनि मिसिएको थियो।
खतिवडा जेनजी आन्दोलनमा छोरा गुमाएकी आमाका रूपमा समानुपातिक सांसद बनेकी हुन्। उनले आफ्नो संसदीय यात्रालाई पद प्राप्तिको अवसरभन्दा न्याय खोज्ने माध्यमका रूपमा व्याख्या गर्दै आएकी छन्। मंगलबार उनले यही विषयलाई संसद्को रोस्ट्रमबाट फेरि प्रस्ट्याइन्।
उनको भनाइ छ, संसद् प्रवेश गर्नु सत्ता र पदको निरन्तरता होइन, आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउने वातावरण निर्माण गर्न सरकारलाई खबरदारी गर्नु ।
तर उनलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने आरोपले भने उनको त्यही पीडामाथि थप चोट पुर्याएको उनले बताइन्। सार्वजनिक रूपमा लगाइएको उक्त आरोपको प्रसङ्ग निकाल्दा उनी केहीबेर सम्हालिन सकिनन्।
उनले भनिन्, ‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन्, उनीहरूसँग हाँस्न, खेल्न र भविष्य देख्न पाउनुहुन्छ। तर मेरो संसार उजाडिएको छ। मेरो काख रित्तिएको छ।’
त्यसपछि उनले आफ्नो अवस्थालाई आरोप लगाउनेहरूलाई प्रश्न गरिन्, ‘यदि कसैले आफ्नो छोरालाई जीवित फर्काएर काखमा ल्याइदिने हो भने आफू तत्काल सांसद पद छाड्न तयार छु । सक्छ कसैले ?’
यो भनाइसँगै उनले आफ्नो सांसद पदप्रतिको मोह नभएको सन्देश दिन खोजिन्। बरु जेनजी आन्दोलनका मृतकले पूर्ण न्याय पाएको दिन आफू पदमा एकछिन पनि बस्न नचाहने घोषणा गरिन्।
उनले भनिन्, ‘जुन दिन जेनजी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन।’
प्रश्न पदको होइन, पीडामाथिको राजनीतिको हो
राजनीतिमा प्रवेश गर्ने व्यक्तिको विगत, उद्देश्य र भूमिकामाथि प्रश्न उठाउन पाइन्छ कि पाइँदैन भन्ने विषय एकातिर छ, अर्कोतिर एउटी आमाले सन्तान गुमाएको पीडामाथि राजनीतिक आरोपको भाषा प्रयोग गर्नु कति उचित ?
राजनीतिक बहसमा आलोचना स्वाभाविक हुन्छ। सांसद स्वयंले पनि सरकारसँग आफ्ना असन्तुष्टि र प्रश्न रहेको स्वीकार गरेकी छन्। तर उनले व्यक्तिगत आक्षेप र अपमानजनक टिप्पणीले आफ्नो मुटुको घाउ थप बल्झाएको बताइन्।
‘आमाको माया र ममतामाथि राजनीतिक प्रहार नगर्न’ उनले आग्रह गरिन्।
उनको सम्बोधनले संसद्मा उपस्थित सांसदहरूलाई मात्र होइन, जेनजी आन्दोलनपछि न्यायको प्रतीक्षामा रहेका परिवारको अवस्थाबारे पनि प्रश्न उठाएको छ। आन्दोलनमा सन्तान गुमाएका परिवारका लागि न्यायको विषय राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथिको विषय बन्नुपर्ने उनको आग्रह थियो।
मेडिकल माफिया बन्न राजनीतिमा आएकी होइन
खतिवडाले आफू सामान्य नागरिकलाई उचालेर आपसमा भिडाउने, त्यसको बलमा नेता बन्ने वा ‘मेडिकल माफिया’ बन्ने उद्देश्यले राजनीतिमा नआएको पनि स्पष्ट पारिन्।
उनका अनुसार आफ्नो संसद् यात्रा जेनजी आन्दोलनका मृतकका परिवारका पक्षमा खबरदारी गर्ने उद्देश्यसँग जोडिएको छ।
‘मेरो छोरो शहीद भयो, मैले अब मेरो छोरो जस्तो अरू छोरा मर्न नपरोस् भन्ने चाहना लिएर यहाँ आएकी हुँ,’ उनले भनिन्।
यससँगै उनले सरकारलाई पनि प्रश्नको घेरामा राखिन्। जेनजी शहीदकी आमाको अपमान हुँदा सरकार किन मौन बसेको भन्दै उनले सरकारको भूमिकामाथि प्रश्न गरिन्।
उनले भनिन्, ‘आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्यायको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्छ। सरकारको भूमिका खोई ?’
‘हाम्रा छोराहरूको रगत अझै सुकेको छैन,’ उनले सरकारलाई सम्झाइन्, ‘न्यायको आभास हुने गरी काम गर्नुहोस्।’
संसद्मा आएको आँसुको अर्थ
खतिवडा संसद्मा रोएको दृश्यलाई केवल एक सांसदको भावुक क्षणका रूपमा हेर्न सकिन्छ। तर त्यसलाई त्यतिमै सीमित गर्दा उनको सम्बोधनले उठाएको आवाज दब्न सक्छ।
सांसद स्वयंले आफ्नो पदलाई स्थायी उपलब्धिका रूपमा नहेरेर न्याय प्राप्तिको बाटोमा अस्थायी जिम्मेवारीका रूपमा प्रस्तुत गरेकी छन्। अर्कोतर्फ, उनलाई लागेको आरोपले आन्दोलनमा सन्तान गुमाएका परिवारको पीडालाई राजनीतिक बहसले कसरी सम्बोधन गरिरहेको छ भन्ने प्रश्न पनि उठाएको छ।
संसद् राजनीतिक मतभेद, आलोचना र प्रतिवादको थलो हो। तर मंगलबारको बैठक र सांसद खतिवडाको प्रश्नले राजनीतिक बहसको केन्द्रमा रहेका मानिस पनि अन्ततः व्यक्तिगत पीडा बोकेका नागरिक हुन् भन्ने सन्देश दिएको छ ।
खतिवडाका लागि त्यो पीडा उनका छोराको मृत्युमा सीमित छैन। उनले त्यसलाई न्यायको प्रश्नसँग जोडेर संसद्सम्म ल्याएकी छन्।
उनको आँसु होइन, उनले संसद्मा उठाएको प्रश्न, जेनजी आन्दोलनमा सन्तान गुमाएका परिवारले न्याय कहिले पाउँछन् ? र त्यो न्याय नपाउँदासम्म उनीहरूको पीडामाथि राजनीतिक आरोप–प्रत्यारोपको सिलसिला कहाँसम्म जाने हो ?
प्रकाशित: ६ आश्विन २०८३ १५:४३ मंगलबार