राजनीति

प्रतिनिधिसभाको दोस्रो अधिवेशनबाट कुन–कुन विधेयक पारित भए ?

संघीय संसद्, प्रतिनिधिसभाको दोस्रो अधिवेशन १४५ दिनसम्म सञ्चालन भएर शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ। अधिवेशनको अन्तिम बैठकमा सभामुख डोलप्रसाद अर्यालले अधिवेशन अवधिमा भएका काम कारबाहीबारे सदनलाई जानकारी गराएका छन्। 

सभामुख अर्यालका अनुसार दोस्रो अधिवेशनमा सरकारका तर्फबाट ३५ वटा सरकारी विधेयक दर्ता भएका थिए। तीमध्ये संघीय संसद्का दुवै सदनबाट १२ वटा विधेयक पारित भएका छन् भने ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। 

दुवै सदनबाट पारित भएका विधेयकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८२, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८२, आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ रहेका छन्। 

त्यस्तै सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ र नेपाल विशेष सेवा ऐन, २०४९ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ पनि पारित भएका छन्। 

पहिलो अधिवेशनबाट प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ र राष्ट्रिय सभाबाट प्राप्त राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८२ पनि संघीय संसद्का दुवै सदनबाट पारित भएका छन्। 

यसैगरी राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रतिनिधिसभाबाट मात्रै पारित भएको छ। २० वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेका छन्। 

संघीय निजामती सेवा विधेयक, २०८३ दर्ताको क्रममा रहेको तथा अन्य केही विधेयक समितिमा प्रतिवेदन पेस हुने अवस्थामा रहेको सभामुख अर्यालले जानकारी गराएका छन्।  

प्रकाशित: १६ आश्विन २०८३ १७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App