जेन-जी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालको घरमा लगाइएको आगोले जलेका पैसाको स्रोत पहिचान गर्न अनुसन्धान थालिएको छ। सरकारले पैसाको स्रोत पहिचनाका लागि विभिन्न निकायलाई परिचालन गरेको छ।
‘उहाँहरु (शेरबहादुर देउवा र पुष्पकमल दाहाल) को घरमा ठुलो रकम रहेको र आन्दोलनका क्रममा जलेको भेटिएकाले त्यसको स्रोत पहिचानका लागि अनुसन्धान थालिएको हो’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने।
ती कर्मचारीका अनुसार यो मामिलामा राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका बेग्लाबेग्लै अनुसन्धान टोलीले काम गरिरहेका छन्। ‘सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्, प्रतिवेदन आएपछि मात्रै थप प्रक्रिया अघि बढ्छ’, ती कर्मचारीले भने।
यतिबेला राजनीतिक दलका नेताहरु सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान घेरामा छन्। अन्तरिम सरकारले उनीहरुको गतिविधिबारे निगरानी गरिरहेको छ। यो सरकारको मुख्य काम ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने भए पनि उसले जेनजीको मागबमोजिम अन्दोलनमा भएको दमन, हिंसात्मक घटना र भ्रष्टाचारका विषयमा छानबिन गर्ने भएको छ। दमनका विषयमा छानबिन गर्न आयोग बनिसकेको छ। भ्रष्टाचारको अनुसन्धानका लागि आयोग बनाउन बाँकी छ। ‘राजनीतिक दलका नेताहरुको घरमा कसरी पैसा थुप्रियो। यो विषयमा छानबिन गर्नेगरी सरकार अघि बढेको छ’, स्रोतले भन्यो।
भ्रष्टाचारका विषयमा छानबिन गर्न आयोग नबन्दै देउवा र दाहालको घरमा जलेका पैसाबारे अनुसन्धान थालिएको छ। यो विषयमा औपचारिक रुपमा सरकारी निकायका अधिकारीहरु कोही पनि बोल्न तयार छैनन्। ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा र दाहालकोे घरबाट संकलन गरेका केही प्रमाण डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ’, स्रोतले भन्यो। फरेन्सिक ल्याबबाट नतिजा आएपछि मात्रै प्रतिवेदन बन्ने सम्पत्ति शुद्धीकरण विभागको भनाइ छ।
नेपाली कांग्रेसका सभापति देउवा र कांग्रेस नेता एवं पूर्वउर्जामन्त्री दीपक खड्काको घरमा गत आइतबार सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेर मुचुल्का उठाएको थियो। हरिहरभवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली बुढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा पुगेर मुचुल्का उठाएको थियो।
विभागको टोलीले माओवादी केन्द्रका अध्यक्षसमेत दाहालको खुमलटारस्थित घरमा पुगेर मुचुल्का उठाएको थियो। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगो लगाइदिएपछि उनीहरूको घर जलेको थियो। जलेका तीनैजनाको घरमा डढेको अवस्थामा पैसा भेटिएको थियो। पैसा जलेपछि त्यसको स्रोत पत्ता लगाउन अनुसन्धान थालिएको हो।
‘ठुला ठेक्काको सेटिङ, कर्मचारी सरुवाबढुवामा लिएको घुस, खरिद सामग्रीवापतको रकम, नीतिगत रुपमा व्यापारीलाई सहज बनाइदिएवापत प्राप्त गरेको रकम, व्यापारी र तस्करसँग सेटिङ मिलाइदिएवापतको रकम नै नेताहरुको घरमा पुगेको अनुमान गरिएको छ’, प्रधानमन्त्री कार्यालयका ती कर्मचारीले भने।
देउवाको घरमा डलर र नेपाली हजार, पाँच सय दरका नोटहरूका जलेको अवस्थामा भेटिएका थिए। पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरिएको थियो। खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो। खड्काको घरमा भेटिएको पैसा भन्दै प्रदर्शनकारीले उडाएको भिडियो पनि सार्वजनिक भएको थियो। देउवाको सचिवालयले भने विज्ञप्ति जारी गर्दै रकम राख्ने सुरुङ र पैसा घरमा नभएको दाबी गरेको थियो।
आवश्यक परेमा यस विषयमा राजस्व अनुसन्धान विभागले पनि छानबिन गर्ने बताइएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले देउवा र दाहालको घरमा जलेका र भेटिएका सबै पैसा कानुनसम्मत आर्जन नभएको आशंकासहित अनुसन्धान सुरु गरिएको जनाएको छ।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका माथिल्लो तहका केही नेताको सम्पत्ति विवरण मगाएर छानबिन गर्ने स्रोतले बताएको छ। ‘कर्मचारीको सम्पत्ति विवरण रहेको निजामती किताबखाना, नेताहरुको सम्पत्ति विवरण रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायधीशहरुको सम्पत्ति विवरण रहेको न्यायपषिद्सँग विवरण मागिने छ’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित २०४६ सालपछि राजनीतिक नेतृत्वमा रहेका नेताहरुको सम्पत्ति छानबिन गर्ने तयारीमा सरकार छ। सरकारले यो विषयमा ठोस निर्णय भने गरेको छैन।
सरकारले जेनजी आन्दोलनमा भएको दमन र हिंसात्मक घटनाका विषयमा छानबिन गर्न विशेष अदालतका पूर्वन्यायधीश गौरीबहादुर कार्की नेतृत्वमा आयोग गठन गरिसकेको छ।
प्रकाशित: १० आश्विन २०८२ ०६:१७ शुक्रबार